एमाले नेताहरु नै माधवको पक्ष र विपक्षमा बिभाजित
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गामा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेपछि पक्ष-विपक्षमा प्रतिक्रिया आइरहेका छन् । २०६९ सालमै आफैँले मुद्धा नचल्ने निर्णय गरेर तामेलीमा राखेको फाइल अख्तियारले पुन: जगाएर मुद्दा चलाएकाले एकथरीले राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको दाबी गरिरहँदा अर्कोथरीले भने यसलाई स्वभाविक प्रक्रियाका रुपमा लिएको पाइन्छ ।
सरकारको नेतृत्वकर्ता एमालेको ठूलोपंक्ति माधवविरुद्ध मुद्दा दर्ता भएकोमा उत्साहित देखिएको छ । सो पार्टीका एकथरी नेता-कार्यकर्ता हर्षबढाइँ गरिरहेका छन् । माधवमाथि लागेको जग्गा हिनामिनाको अभियोग एमाले नेताकै हैसियतमा प्रधानमन्त्री भएका बेलाको हो भन्ने तथ्य बिर्सेर 'खुच्चिङ' गर्दै उछित्तो काढ्नेहरुलाई फेसबुकमा स्टाटस लेख्न भ्याइ-नभ्याइ देखिन्छ ।

तर,एमालेकै अर्कोथरी पुराना नेताले भने माधवप्रति सहानुभूति प्रकट गरेका छन् । चीनका लागि पूर्व राजदूतसमेत रहेका अखिलका पूर्व अध्यक्ष टंक कार्कीले माधवले भ्रष्टाचार गरेकोमा आफूलाई विश्वास नलागेको टिप्पणी गरेका छन् ।
'तर्क,कुतर्क लाख गर्न सकिएला । तर, माधव नेपालउपर जे भयो/गरियो नहुनुपर्ने भयो/गरियो', उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'माधव नेपालसँग वैचारिक विमती हुनसक्छ, उनका कमी हुन सक्छन् तर,भ्रष्टाचारकै खातिर गरे होलान् भन्ने कम्तिमा मचाहिँ सोच्न सक्दिन ।'
'भ्रष्टाचारको आरोप लागेका केही नेताले भ्रष्टाचार गरे कि गरेनन्, त्यो गर्नेलाई थाहा होला । तर, ललिता निवास (बालुवाटार जग्गा) को फैसला आउने दिन (२०७८ फागुन १) नै तत्कालीन प्रन्या चोलेन्द्रसमशेर राणालाई बिना कारण महाभियोग लगाइएको संगति मिलेको थिएन । बाँकी कुरा मिलाएर बुझम्,धेरै बेट्री खर्च नगरम्',
एमाले नेता कार्कीले यो घटनालाई राजनीतिक अस्थिरताको अर्को कडी हुनसक्ने अनुमानसमेत गरेका छन् । सिंहदरबार र टंगालबीचको साँठगाँठमा मुद्दा चलाएको हुनसक्ने कतिपयको आशंकालाई बल पुग्नेगरी उनले 'कहिँ पे निगाहें कहिं पे निशाना' भन्ने हिन्दीको कहावत उल्लेख गरेका छन् ।
एमालेकै अर्का नेता अरुण नेपालले पनि माधवप्रति सहानुभूति दर्साएका छन् । समकालीन राजनीतिक नेतृत्वमा माधव तुलनात्मक रुपमा स्वच्छ छविको नेता भएको उनको भनाइ छ ।
'कमजोरीविहीन मान्छे वास्तविक जीवनमा असम्भव हुन्छ । यो सत्यबाट कोही पनि मुक्त छैन । सवाल धेरै र थोरैको मात्र हो,माधव नेपाल यसको अपवाद हुन सक्नुहुन्न', नेता नेपालले सामाजिक सञ्जालमा लेखेका छन्, 'स्वाभाविक रुपमा उहाँका पनि कमजोरी हुने नै भए तर,एउटा कुरा चाहिँ भन्न सकिन्छ-नेपालको समकालीन राजनीतिमा माधव नेपाल तुलनात्मकरुपमा स्वच्छता भएको नेता हो ।'

अखिलका नेता किरण देउजाले पनि माधवविरुद्ध मुद्दा चलाएकोमा घुमाउरो विरोध गरेका छन् । ललिता निवास जग्गा घोटाला प्रकरणको दृष्टान्त दिँदै उनले कसैलाई तर्साउनकै लागि मुद्दा चलाएको हुनसक्ने संकेत गरेका छन् ।
'भ्रष्टाचारको आरोप लागेका केही नेताले भ्रष्टाचार गरे कि गरेनन्, त्यो गर्नेलाई थाहा होला । तर, ललिता निवास (बालुवाटार जग्गा) को फैसला आउने दिन (२०७८ फागुन १) नै तत्कालीन प्रन्या चोलेन्द्रसमशेर राणालाई बिना कारण महाभियोग लगाइएको संगति मिलेको थिएन । बाँकी कुरा मिलाएर बुझम्,धेरै बेट्री खर्च नगरम्',उनले भनेका छन् ।
आफ्ना तत्कालीन नेतामाथि लागेको आरोपलाई लिएर एमालेपंक्ति यसरी विभाजित भैरहँदा माधवका तत्कालीन कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) भरतबहादुर कार्की,राजनीतिक सल्लाहकार (हाल शिक्षामन्त्री तथा एमाले नेता) रघुजी पन्त र प्रेस सल्लाहकार (एमाले नेता) विष्णु रिजालको भने यससम्बन्धमा अहिलेसम्म सार्वजनिक टिप्पणी सुनिएको छैन ।
टिप्पणीहरू