अखिलको महाधिवेशनमा रहर पोख्ने काम शुरु

अखिलको महाधिवेशनमा रहर पोख्ने काम शुरु

सत्तारुढ दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं महाधिवेशनमा गुटबन्दी देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनविपरीत कित्ता काट गरिएको हो । अध्यक्ष पदका उम्मेदवार डा.सुजन कडरिया र महासचिव पदका आकाश घर्तीले प्यानलसहित २४ औं महाधिवेशनका निम्ति उम्मेदवारी घोषणा गरेका छन् । 

राजधानीको कीर्तिपुरमा जेठ २५ देखि २८ गतेसम्म महाधिवेशन हुँदैछ । पार्टी सचिवालयको पछिल्लो (५२ औं) बैठकले ३२ वर्षे उमेरहद लागू गरेपछि अध्यक्षको आकाँक्षा राखेका महासचिव नरेश रोकाया,गोविन्द गिरी,नारायण घर्तीलगायतलाई ब्रेक लागेको छ । 

महासचिव रोकायाले सामाजिक सञ्जालमा स्ट्याट्स लेखेरै उमेरहद लगाउने निर्णयको विरोध गरेका थिए । उनीहरु बाहिरिएसँगै ३२ वर्ष नकटेका सचिवहरु दीपक धामी,प्रकाश पौडेल, आरती भट्टराई,डा.कडरिया र अञ्जना सिवाकोटीले नेतृत्वमा दाबी गर्ने आकंलन थियो । 

डा.कडरिया र घर्तीले अध्यक्ष र महासचिवमा उम्मेदवारी घोषणा गर्दै प्यानलसहित चुनावमा जाने बताएका छन् । घर्तीले फेसबुकमा लेखेका छन्,‘सबै अग्रज अभिभावक एवं प्रिय अनेरास्ववियुका प्रतिनिधि मित्रहरुको सल्लाह सुझावलाई आत्मसात गर्दै अध्यक्षमा डा.सुजन कडरिया र महासचिव आकाश घर्तीसहितको टिम २४ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवार हुने घोषणा गर्दछौं ।’

अनेरास्ववियुको महाधिवेशनमा गुटबन्दी नगर्न पार्टी अध्यक्षले दिएको निर्देशनका बाबजुद प्यानल घोषणा गरिएपछि धेरैले विरोध जनाइरहेका छन् । महासचिव रोकायाको सुझावमा उनीहरुले प्यानल बनाएको स्रोतको दाबी छ । ‘महाधिवेशनमा प्यानल बनाएर लड्न बर्जित गरिएको छ । तर,कडरिया र घर्तीले प्यानल घोषणा गरेका छन् । 
३२ वर्षे उमेरहद लागु गरेपछि पार्टी महासचिव शंकर पोखरेल र अनेरास्ववियुका महासचिव रोकायाबीच विवाद बढेको छ । उनले आफ्नो फेसबुकमा स्ट्याट्स लेख्दै सो निर्णयले विद्यार्थी आन्दोलनको घाँटी रेटिने बताएका थिए । स्रोतका अनुसार उनीहरुले प्रदेशका अध्यक्षहरुसँग महासचिव पोखरेल,स्थायी कमिटी सदस्य एवं जनवर्गीय सङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल र अनेरास्ववियुका वर्तमान अध्यक्ष समिक बडालको सत्तोसराप गरिरहेका छन् । 

‘यी तीनको कारण उमेरहद लगाएको रोकायासहितको ठहर छ । अहिले प्रदेशका अध्यक्षहरुलाई फोन गरीगरी महासचिव पोखरेललगायतलाई गाली गरिरहेका छन्’,स्रोतले भन्यो । डा.कडरिया र घर्ती व्यापारिक घरानाका हुन् । लुम्बिनी गृहप्रदेश भएका घर्तीको दाजु औषधी व्यापारी रहेको बुझिएको छ ।   

घर्ती लुम्बिनीको भए पनि उनलाई हराउनका निम्ति त्यहीँका एमाले प्रतिनिधिहरु लागिपरेका छन् । रोल्पाका अनेरास्ववियु लुम्बिनी अध्यक्ष सन्तोष बाठा डा. कडरियाले जिते पनि घर्तीलाई हराउनुपर्ने पक्षमा रहेको स्रोतको दाबी छ । अध्यक्षकै अर्का आकाँक्षी प्रकाश पौडेल भने सर्वसम्मतिमा जित्ने दाउमा छन् ।

 

टिप्पणीहरू