समाजवाद घोषणा गरिहाल्न वामदेवको माग
वामपन्थी नेता तथा राष्ट्रिय सभा सांसद वामदेव गौतमले तत्काल समाजवाद घोषणा गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उनले मुलुकमा समाजवाद घोषणा गर्ने समय आइसकेको दाबी गरे । समाजवादको बाटोमा हिँडे मात्रै समृद्ध बन्न सकिने गौतमको भनाइ छ । नत्र देश गरिब र नेताहरू त्यहीँ गरिब जनतालाई ठग्ने भन्दा अहिलेको जस्तै अवस्था रहिरहने उनले बताए ।
भ्रष्टाचार नगरी नेता नबच्ने, चुनाव नजित्ने र राज्यलाई धोका दिनैपर्छ भन्ने बाटोमा मुलुक रहेको बताउँदै गौतमले त्यसलाई बदल्न समाजवादीमा जानुपर्नेमा जोड दिए ।
‘समाजवाद घोषणा गर्ने बेला भयो, ढिला गर्नुहुँदैन । त्यही बाटोमा हिँड्नुपर्छ हामी समृद्ध हुन्छौँ । अरू बाटोबाट हामी गरिबको गरिब, गरिब जनतालाई ठग्ने नेता, त्यो भन्दा अरू हुँदैन’, उनले भने, ‘भ्रष्टाचार नगरी नेता बाँच्दैन, नेताले चुनाव जित्न पनि सक्दैन, केही न केही गर्नैपर्छ, राज्यलाई केही न केही धोका दिनै पर्छ, त्यस्तो बाटोमा लैजाने गरी आज जुन व्यवस्था भएको छ, त्यो व्यवस्था सबैलाई भ्रष्टाचार गर्न लगाउने व्यवस्था हो । यसलाई परिवर्तन गर्नुपर्छ । परिवर्तन गरेर अगाडी जाने काम गरौँ । अभाव केही छैन नेपालमा, सबै चिज नेपालभित्रै छ ।’
संविधानमा समाजवाद लेखिए पनि कार्यान्वयन नभएको भन्दै गौतमले आपत्ति जनाए ।
टिप्पणीहरू