कीर्तिपुरमा पोखियो च्यासलको असन्तुष्टि

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किन गरेको प्रयासप्रति अध्यक्ष केपी शर्मा ओलीले असन्तोष जनाउनुभएको छ । राजनीतिक पुनरागमनको तयारीसहित भण्डारी कार्यकर्ता भेटघाटमा व्यस्त रहँदा ओलीले उहाँको नाम उल्लेख नगरि रोषपूर्ण टिप्पणी गर्नुभएको छ । 

अनेरास्ववियुको महाधिवेशन उद्घाटन गर्दै उहाँले अमूक व्यक्तिको नाममा कित्ताकाट गर्ने र सामाजिक सञ्जाल रंगाउनेहरुलाई कडा जवाफ दिन विद्यार्थी नेतालाई निर्देशन पनि दिनुभयो । ‘अहिले हल्ला चल्या छ तल तल, यो ग्रुप, त्यो ग्रुप भनेर, त्यो आवश्यक नै छैन, त्यस्ता कुरा सुन्नेबित्तिकै तपाईंले इन्कार गरिहाल्नुस्, फलानाका ग्रुप, फलानाका ग्रुप, यस्ता कुरै छाडिदिनुस्’, ओलीले भन्नुभयो, ‘खेल हुन खोज्या छ, पार्टीमा फलाना आउने अरे, यो आउने अरे, पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, अहिले महाधिवेशन घोषणा नै भएको छैन !’

महाधिवेशनको टुंगो नै नभएको अवस्थामा एमालेमा फलाना आउने रे भनेर हल्ला चलाउनुको अर्थ नरहने उहाँको भनाइ छ । भण्डारीको नाम उल्लेख नगरी ओलीले यस्ता गतिविधिले कार्यकर्ताको मनस्थिति बिथोल्ने र पार्टीमा विभाजन ल्याउने दाबी गर्नुभयो । 

‘बाहिर बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर बनाउन खोज्ने, कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने, यस्तो दुष्प्रयासहरुलाई सिधै इन्कार गर्नुहोस्, त्यस्ता कुरा गर्नेहरुलाई पनि जवाफ दिनुहोस्, स्टाटस सिस्टासलाई पनि जवाफ दिए हुन्छ’, उहाँले भन्नुभयो, ‘पार्टीभन्दा बाहिर गएर फेसबुक वा अन्य सञ्जालबाट वा अन्य कुनै अन्तर्वार्ताबाट पार्टीलाई अपमान र होच्याउने काम हुन्छ भने त्यो पार्टीको आन्तरिक कुरा हुँदैन, त्यसलाई पार्टीले राम्रै जवाफ दिन्छ भन्ने म स्पष्ट पार्न चाहन्छु ।’
 

टिप्पणीहरू