वाईसिएलको जम्बो टोलीलाई खुमलटारमा निर्देशन

वाईसिएलको जम्बो टोलीलाई खुमलटारमा निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरुद्ध खरोरुपमा उत्रन युवा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । 

पार्टीको भातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसिएल)को नवनिर्वाचित पदाधिकारीलाई आफ्नै खुमलटार निवास खुमलटारमा बधाई तथा शुभकामना दिँदै उहाँले जनयुद्धका उपलब्धिको रक्षा र पार्टीमाथि हुने हमलाको प्रतिवाद गर्न निर्देशन दिनुभएको हो । 

‘प्रतिगमनकारीहरूले कहीँ न कहीँ जनयुद्ध, माओवादी, युवा, वाईसिएल, जनमुक्ति सेनाको भूमिका र योगदानलाई अपमानित गर्ने कोसिस गरिरहेका छन्’, प्रचण्डले भन्नुभयो, ‘त्यस्ता सबै खाले प्रतिगमनविरुद्ध वाईसिएलले आफूलाई खरो र दह्रो साबित गर्नेमा म विश्वास व्यक्त गर्छु।’

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सहमतिको मार्ग हिँड्दा वाइसिएलमा पदाधिकारीको संख्या धेरै हुन गएको पनि बताउनुभयो । ‘सहमतिका प्रयास गर्दागर्दै, पदाधिकारी संख्या मिलाउँदै जाँदा सोचेभन्दा अलिकति ठूलो हुन पुग्यो, तर यसले तपाईहरुलाई गतिशिल र रचनात्मक बन्ने अवसरमा पनि दिएको छ’, उहाँले थप्नुभयो । 

हिजो सम्पन्न वाईसिएलको महाधिवेशनले विधान संशोधन गरी पदाधिकारीको संख्या ३५ बाट ७४ पुर्याएको छ । सर्वसम्मत नेतृत्य चयन गर्दा सबैको भावनालाई समेट्नुपर्ने तर्कका आधारमा यसरी पदाधिकारीको आकार ठूलो बनाइएको हो । 

महाधिवेशनबाट पुष्प वली अध्यक्ष र गणेश शाही महासचिव चयन भएका छन् । उपाध्यक्ष २२, सचिव ३१ र सहसचिव १९ जना छानिएका छन् ।

टिप्पणीहरू