पानीजहाज विधेयक संसदबाट पारित
राष्ट्रिय सभाबाट पानीजहाज विधेयक पास भएको छ । आज बसेको सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसपछि भएको छलफलमा सांसदहरुले विभिन्न प्रश्न गरेका थिए ।
छलफलका क्रममा सांसदहरुले उठेको प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले विधेयकले आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न बाटो खोल्ने भएकाले पास गर्न आग्रह गरे । कोशी र नारायणी नदीबाट भारतसम्मको पहुँच अभिवृद्धि गर्न र गंगा नदी हुँदै कोलकतासम्मको पहुँच विस्तार गर्नसके समुन्द्रसम्म पुग्न सकिने उनले दाबी गरे ।
अध्ययन मात्रै गर्ने भएकाले आन्तरिक र वाह्य रुपमा पहुँच अभिवृद्धि गर्न धेरै अहिलेका लागि बजेट माग नगरिएको जानकारी पनि उनले संसदलाई गराए । मन्त्रीले जवाफ दिइसकेपछि निर्णयार्थ प्रस्तुत प्रस्तावलाई सभाका बहुमत सदस्यहरुले समर्थन गरे ।
त्योसँगै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् ।
टिप्पणीहरू