यसमानेमा पूर्वी नवलपरासी पहिलो र भाग्यमानी जिल्ला
पूर्वी नवलपरासीको गैंडाकोट–४ स्थित हरचुलीबारीमा डिप ट्युबवेलको व्यवस्था भएपछि स्थानीय कृषक खुसी छन् । पहिले जयश्री खोलाको पानीबाट जेनतेन कुलोमार्फत् सिंचाइ हुँदै आएको ठाउँमा अहिले डिपबोरिङको समेत व्यवस्था भएपछि बाह्रैमास सिँचाइ सुविधा पुग्ने भएको छ । जयश्री खोला नै हिँउदमा सुक्ने अवस्थाका कारण त्योबेला कुलोबाट सिँचाइ हुन सक्दैनथ्यो । कुलोमा पानी मिलाउन रानीतालको जंगलमै जानुपथ्र्याे, अब सर्प, भीर र जङ्गली जनावरको डर पनि भएन– एक स्थानीयले भने ।
चितवन भूमिगत संयोजनात्मक जल सिंचाइ आयोजनाअन्तर्गत ६५ लाखको योजनामा हरचुलबारी डिप ट्युबलेव जल उपभोक्ता समितिमार्फत् डिप बोरिङ निर्माण कार्य दुई महिनाअघि सम्पन्न भएको हो । करिब चार महिना लगाएर काम सम्पन्न गरी गत चैत १९ मा यसको उद्घाटन गरिएको र अहिलेको मकै खेतीमा यसबाट पानी लगाउने काम पनि भएको उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद न्यौपानेले जानकारी दिए ।
उक्त डिप ट्युबवेलबाट ३०/३५ बिघा जमिनमा सिंचाइका लागि पानी प्रशस्त पुग्ने अध्यक्ष देवी बताउँछन् । यहाँ प्रशस्त धान खेती हुने ठाउँ हो । चैते धान पनि हुन्छ, पहिले पानीको समस्या थियो, अब चैते धानको खेती पनि सजिलै हुने उनले बताए । वर्षेधानपछि तोरी, आलु र मकैलाई पनि पानी लगाउनुपर्ने हुन्छ । सिंचाइ भए काउली, बन्दा, टमाटर अनि लहरेबालीमा घिउसिमी, बोडी, काँक्रा लगायतका तरकारी पनि यहाँ राम्रो उत्पादन हुने स्थानीय बताउँछन् ।
योसँगै चितवन भूमिगत संयोजनात्मक जल सिंचाइ आयोजनाबाट गैंडाकोट नगरपालिकामा पाँचवटा डिपबोरिङको काम भएको आयोजना प्रमुख विश्वबन्धु केसीले जानकारी दिए । अन्य चारवटा डिपबोरिङको काम गैंडाकोटको वडा नं. ३, १३, १५ र १६ मा भएको उनले बताए । पूर्वी नवलपरासीकै मध्यविन्दु नगरपालिकामा तीनवटा, देवचुलीमा एउटा र कावासोतीमा दुईवटा डिप बोरिङको काम भएको आयोजना प्रमुखले जनाए । विनयी त्रिवेणी गाउँपालिकामा चारवटा डिप ट्युबवेल राख्ने कार्य अहिले भइरहेको पनि उनले खुलाए ।
यता चितवनको माडीमा पाँचवटा, पूर्वीचितवनमा आठवटा र भरतपुर महानगरपालिकामा १५ वटा डिप ट्युबवेलको काम यो वर्ष भएको बताइएको छ । मकवानपुरमा तीनवटा कार्यक्रम थियो, त्यसमा दुईवटा मात्रै भएको पनि उनले बताए । चितवन र मकवानपुरमा क्रमागत रुपमा पनि आयोजनाहरु सञ्चालन हुँदै आएको बताइन्छ ।
‘यसमानेमा पूर्वीनवलपरासी भाग्यमानी जिल्ला मानिएको छ’, आयोजना प्रमुखले भने, ‘जहाँ अहिले एकैपटकमा आयोजना सम्पन्न भएको छ ।’
२०७७ मा स्थापना भएको चितवन भूमिगत संयोजनात्मक जल सिंचाइ आयोजनाले सुरुमा चितवनमात्र हेरेको थियो । त्यसपछि मकवानपुरलाई पनि कार्यक्षेत्रमा समेटियो र अहिले यो वर्षबाट पूर्वी नवलपरासी पनि थपिएको हो । पूर्वी नवलपरासीमा यो वर्ष पहिलो कार्यक्रम भएको हुँदा एकैपटकमा फाइनल काम हुन सकेको आयोजना प्रमुख केसी बताउँछन् ।
नत्र प्रायः आयोजनाहरुमा पहिलो वर्ष ट्युबवेल, दोस्रो वर्ष पम्प, पम्पघर र विद्युतीकरण अनि तेस्रो वर्ष वितरण प्रणालीको काम हुँदै आएको आयोजनाले बताएको छ । कतै–कतै पहिलो वर्ष ट्युबवेल र दोस्रो वर्ष पम्प लगायत वितरण कार्य हुने गरेको जनाइएको छ । चितवन र मकवानपुरमा गत वर्षका काम पनि बाँकी हुँदा प्रायः क्रमागत रुपमा नै आयोजनाहरु सञ्चालन गरिएको आयोजना प्रमुखले बताए ।
पूर्वी नवलपरासीमा गत वर्षको बाँकी काम नभएकोले एकैपटकमा आयोजनाहरु फाइनल गरिएको उनको भनाइ छ । गतसाल भैरहवाले नवलपरासीमा बाँकी छोडेका केही काम पनि यसै आयोजनाबाट अहिले सम्पन्न गरिएको केसीले बताए । आयोजनाको यो वर्षको बजेट रु. ३७ करोड रहेको र त्यसैबाट सबै काम भएको आयोजना कार्यालयले बताएको छ । बजेट अभाव लगायत अन्य विविध कारणले गर्दा आयोजनाहरु क्रमागत रुपमा सञ्चालन गरिँदै आएको जानकारी गराए ।
सतह सिँचाइ पर्याप्त हुन नसकेको ठाउँहरुमा बाह्रै महिना सिंचाइ सुविधा पुर्याउन डिप ट्युबवेल आयोजना अगाडि सारिएको बुझिन्छ । आयोजना प्रमुख भन्छन्, ‘सिंचाइका लागि सतह तथा भूमिगत जल स्रोतलाई संयोजनात्मक रुपमा उपयोग गरी वर्षैभरि सिंचाइ सुविधा पुर्याउँ भन्ने हो ।’
सतह सिँचाइ नभएका स्थानमा पनि यस आयोजनाबाट डिप ट्युबवेलको काम भइरहेकोे उनले जनाए । – अजय गोर्खाली
टिप्पणीहरू