फ्रान्सेली राष्ट्रपतिद्वारा चीन र चिनियाँ जनताको मुक्तकण्ठले प्रशंसा
चिनियाँ राष्ट्रपति सी चिनफिङ चीनको राजकीय भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोँसँगै चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको राजधानी छन्तु पुग्नुभएको छ । अस्ति राजधानी बेइजिङ पुगेका फ्रान्सेली राष्ट्रपतिलाई हिजो औपचारिक स्वागत गरेपछि हिजै साँझ दुबै राष्ट्रपति सपत्नी सिचुआन भ्रमणमा जानुभएको हो ।
सिचुआन चीनमा ‘समिृद्ध भूमि’ भनेर चिनिन्छ। राष्ट्रपति सीले माक्रोँको निमन्त्रणामा गत वर्ष गरेको आफ्नो फ्रान्स भ्रमण सम्झिँदै यस पटकको भ्रमणले माक्रोँलाई चीनबारे अझ गहिरो रुपमा बुझ्ने अवसर मिलेको विश्वास व्यक्त गरेको बताइन्छ ।
राष्ट्रपति सीले दुई हजार वर्षभन्दा पुरानो दोज्याङ्गयान सिंचाइ प्रणालीको इतिहास र महत्वबारे जानकारी गराउनुभएको थियो । युनेस्को विश्व सम्पदा सूचीमा समावेश यो पूर्वाधार विश्वकै एकमात्र प्राचीन तर आजसम्म सञ्चालनमा रहेको सिंचाइ प्रणाली हो। यसले मानव–प्रकृतिबीचको सामञ्जस्यपूर्ण सहअस्तित्वको प्रारम्भिक सफल अभ्यासलाई प्रतिविम्बित गर्ने राष्ट्रपति सीको भनाइ छ । यसको परम्परातग निर्माण प्रक्रियाले विशेष अवस्थाको सामना गर्ने, अघि बढ्ने र निरन्तर आत्मसुधार गर्ने चिनियाँ राष्ट्रको आत्मालाई प्रस्ट देखाएको सीको भनाइ थियो।
उहाँले दोज्याङ्गयान प्रत्येकपटक हेर्दा चिनियाँ अग्रजहरूले स्थानीय भू–परिस्थिति बुझेर प्रकृतिसँग सामञ्जस्य स्थापित गर्दै जनहितका लागि बाढी नियन्त्रणमा पुर्याएको योगदानप्रति आफूले सँधै मन्थन गर्दै आएको बताउनुभयो । यसले आधुनिक राज्य सञ्चालनका लागिसमेत प्रेरणा र ज्ञान दिएको उहाँको निश्कर्ष छ ।
फ्रान्सेली जनतामा पनि अदम्य आत्मा रहेको उल्लेख गर्दै सीले चीन र फ्रान्सले एक अर्कालाई अन्य देशको तुलनामा अझ राम्रोसँग बुझ्न र सम्मान गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो । दुई हजार वर्ष अघिको जलस्रोत संरचनाले आज पनि काम गरिरहेको अवस्थाको चर्चा गर्दै माक्रोँले चिनियाँ जनताको मेहनत र सीपको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
दुवै देश लामो इतिहास र समृद्ध सभ्यताका प्रतिनिधि भएकाले दुवै जनतामा राम्रो भविष्यको साझा आकांक्षा रहेको माक्रोँको भनाइ छ । सहकार्यमार्फत् दुवै मुलुकले विकास र समृद्धिको साझा लक्ष्यलाई अघि बढाउनसक्ने विश्वास फ्रान्सेली राष्ट्रपतिको छ ।
सीले निरन्तरता, सिर्जनशीलता, एकता, समावेशिता र शान्तिप्रियता जस्ता विशेषताले भरिएको चिनियाँ सभ्यता संसारमा निरन्तर चलिरहने सफल एकमात्र महान् प्राचीन सभ्यता भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार चीन र फ्रान्स पूर्वी र पश्चिमा सभ्यताका उत्कृष्ट प्रतिनिधि भएकाले दुवैको स्वतन्त्रताको भावना उनीहरूको सांस्कृतिक गहिराइबाट निस्किएको हो ।
कुराकानीमा चीन–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना हुनु दुई स्वतन्त्र राष्ट्रबीचको ‘हातेमालो’ मात्र नभई दुई उज्ज्वल सभ्यताहरूको संगम पनि भएको सीको भनाइ छ ।
अस्थिर र परिवर्तनशील विश्व परिदृश्यलाई सामना गर्न चीन र फ्रान्सजस्ता ऐतिहासिक र सांस्कृतिक देशहरूले संवाद र सहकार्यबाट विश्व शान्ति, स्थिरता र मानव प्रगतिमा योगदान दिनुपर्ने आवश्यकता सीले व्यक्त गर्नुभयो । बदलिंदै गएको अन्तर्राष्ट्रिय परिदृश्य अनिश्चितताले भरिएको बताउँदै माक्रोँले पनि संवाद र परामर्शमार्फत् विवाद समाधान गर्न चीनसँग सञ्चार र समन्वय बढाउन फ्रान्स इच्छुक रहेको सन्देश दिनुभएको छ ।
त्यसपछि राष्ट्रपति सी र श्रीमती पेङ लियुवानले माक्रोँ दम्पतीको सम्मानमा दिवाभोज आयोजना गर्नुभयो । सो अवसरमा दुवै राष्ट्राध्यक्षले घनिष्ट सम्पर्क कायम राख्दै चीन–फ्रान्स व्यापक रणनीतिक साझेदारीलाई अगाडि बढाउने सहमति जनाउनुभएको छ ।
माक्रोँको भ्रमणका क्रममा दुवै पक्षले विश्व शासन सुदृढीकरण, जलवायु तथा वातावरणीय चुनौतीको सामना, परमाणु ऊर्जाको शान्तिपूर्ण प्रयोगमा सहकार्य, कृषि तथा खाद्य क्षेत्रका आदानप्रदान, साथै युक्रेन र प्यालेस्टाइन स्थितिबारे संयुक्त धारणा सम्बन्धी विषयलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गएराति छन्तु प्रस्थान गर्नुअघि फ्रान्सेली राष्ट्रपतिले हिजो दिउँसो बेइजिङमा राष्ट्रपति सी र अन्य उच्च चिनियाँ नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो । ६० वर्ष पहिले कूटनीतिक सम्बन्ध स्थापना गरेको वर्षगाँठको सन्दर्भमा राष्ट्रपति सीको ऐतिहासिक फ्रान्स भ्रमणपछि माक्रोँको यो चीनको चौथो राजकीय भ्रमण हो ।
स्रोत : सिसिटिभी प्लस ।
टिप्पणीहरू