जेन–जी विध्वंशकारीविरुद्ध एमालेको जाहेरी
जेन–जी विध्वंशका क्रममा भदौ २४ गते नेताका घर र पार्टी कार्यालयमा भएको तोडफोड तथा आगजनीमा संलग्नहरूविरुद्ध नेकपा एमाले मोरङले प्रहरीमा जाहेरी दिएको छ।
एमालेका १४ वटा जनसंगठनका अध्यक्षहरूले फोटो–भिडियोसहित तयार पारेको विवरण जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कविता कटुवालाई सिडिओ युवराज कट्टेलको उपस्थितिमा बुझाएका छन् । घटनामा संलग्न समूहलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरिएको छ।
एमाले मोरङले गठन गरेको अध्ययन कार्यदलको प्रतिवेदनका आधारमा जाहेरी दिइएको उल्लेख छ । कार्यदलका संयोजक तथा कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतम नेतृत्वको टोलीले तयार पारेको प्रतिवेदनमा मोरङका सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा करिब ५ अर्ब रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।
मोरङ प्रहरीले आन्दोलनका क्रममा विध्वंशमा संलग्न ३९ जनालाई विराटनगर, रंगेली, जहदालगायत स्थानबाट पक्राउ गरिसकेको जनाएको छ । फरार अन्य व्यक्तिहरूको खोजी तीव्र बनाइएको छ ।
विध्वंशमा मोरङमा मुख्यमन्त्री तथा मन्त्रीका सरकारी निवास, निजी निवास र मन्त्रालय, विभिन्न कार्यालय, महानगरपालिका, भाटभटेनी मल, कोशी प्रदेशसभा, प्रशासन कार्यालय, जिल्ला तथा उच्च अदालत, कोइराला निवास र एमाले जिल्ला पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो ।
टिप्पणीहरू