हिमालय एअरलाइन्सको गर्विलो एक दशक
नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले उडानको एक दशक पूरा गरेको छ । सो अवसरमा एअरलाइन्सले दुवै देशबीचको सम्बन्धलाई थप गहिरो र मजबुत बनाउन नयाँ यात्राको शुरुवात गर्ने प्रतिबद्धता जनाएको छ ।
एअरलाइन्सले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आफ्नो दशौं वार्षिकोत्सव भव्यतासाथ मनाएको छ । कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, काउन्सिलर झी यु वा, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका अधिकारीहरुको उपस्थिति रहेको बताइन्छ ।
कठिन समयमा हिमालय एअरलाइन्सले नेपालमा गरेको उत्कृष्ट योगदानप्रति कृतज्ञता व्यक्त गर्दै राजदूत सोङले भविष्यको यात्रामा अझ ठूलो प्रगति र उपलब्धि हासिलको शुभकामना दिनुभएको थियो ।
उहाँले भन्नुभयो, ‘यो चीन–नेपाल मित्रताको गहिरोपन र राम्रो भविष्यको संयुक्त निर्माण जीवन्त प्रतीक हो । दुई देशबीचको सहयोगको फलदायी परिणामलाई यसले दृढतापूर्वक प्रदर्शन गर्दछ ।’
कार्यक्रममा परम्परागत नृत्य र राष्ट्रिय स्वादले भरिएका गीत संगीतसँगै सांस्कृतिक पोशाक प्रदर्शनी प्रतियोगितासमेत गरिएको थियो । जातीय समूहको परम्परागत पोशाकमध्ये सर्वोत्कृष्टलाई उपहारसमेत प्रदान गरियो ।
निजी क्षेत्रको प्रतिनिधित्व गर्दै हिमालयले सन् २०१६ बाट नियमित उडान शुरु गरेको हो । नेपाललाई चीन, साउदी अरेबिया, कुवेत, कतार, युएई, मलेसिया र बंगलादेशसँग जोडेको हिमालयसँग हाल चार वटा विमान छन् ।
हिमालयमा नेपालका तर्फबाट यति वल्र्ड र चीनको तिब्बत सरकारको संयुक्त लगानी रहेको छ । सञ्चालनमा आएको एक दशकमा एसिया र मध्यपूर्वका प्रमुख गन्तव्यमा निर्धारित उडान सञ्चालन गर्ने एक भरपर्दो अन्तर्राष्ट्रिय एयरलाइनको रुपमा आफूलाई स्थापित गर्न सफल भएको एअरलाइन्सको दाबी छ ।
‘नयाँ दशकमा प्रवेश गर्दैगर्दा यो सेवाको गुणस्तर बढाउन, आफ्नो नेटवर्क विस्तार गर्न र दक्षिण एसियामा एक प्रमुख उड्डयन केन्द्र बन्ने नेपालको दृष्टिकोणमा योगदान पुर्याउन प्रतिबद्ध छ,’ एअरलाइन्सले बताएको छ ।
तस्बिरहरु








टिप्पणीहरू