अत्यधिक गर्मीका कारण विद्यालयहरु धमाधम बन्द

अत्यधिक गर्मीका कारण विद्यालयहरु धमाधम बन्द

सुनसरीको ईटहरी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै विद्यालयमा भोलि बिदा दिएको छ । अत्यधिक गर्मी बढेपछि उपमहानगरले भोलि बिदा दिने निर्णय गरेको छ । सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्राचार गर्दै उपमहानगरले वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिन निर्देश गरेको हो ।

‘अत्यधिक गर्मी बढ्न गई विद्यालयहरुमा शैक्षिक क्रियाकलाप सञ्चालन तथा विद्यार्थीहरुको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भनि विद्यालयहरुबाट व्यापक गुनासो आएको हुँदा ईटहरी उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरुमा मिति २०८२–०२–२८ गते एक दिन मिनपचास बिदा (वर्षे बिदा) बाट कट्टा हुनेगरी बिदा दिने...’,आज जारी सूचनामा उल्लेख छ । 

पछिल्लो केही दिनयता मुलुकभर गर्मी बढेको छ । बढ्दो तापक्रमका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या देखिन थालेपछि कञ्चनपुरको बेलौरी नगरपालिकाले दुई दिन बिदा दिएको छ । विशेषगरी तराई र भित्री मधेशका धेरै जिल्लाका विद्यालयहरु धमाधम बन्द गरिएको छ ।

टिप्पणीहरू