अदालतले प्रेस काउन्सिलको क्षेत्राधिकार मिचेको ठहर

अदालतले प्रेस काउन्सिलको क्षेत्राधिकार मिचेको ठहर

नेपाल पत्रकार महासंघले समाचारसम्बन्धी उजुरी लिने र कारबाही गर्ने निकाय प्रेस काउन्सिलको भएको स्पष्ट पारेको छ । 

काठमाडौं जिल्ला अदालतले दुई सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउन आदेश दिएपछि महासंघबाट यस्तो प्रतिक्रिया आएको हो । महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै अदालतले काउन्सिलको क्षेत्राधिकार मिचेको भन्दै असन्तुष्टि जनाए । 

अदालतको आदेश प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता, नेपालको संविधान २०७२ को व्यवस्था र मर्मविपरीत भएको उनको ठम्याई छ । 

‘सञ्चारमाध्यममा प्रकाशित–प्रसारित समाचारका विषयमा चित्त नबुझेको अवस्थामा पीडितको उजुरी लिने र त्यसविरुद्ध कारबाही गर्ने प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारको विषय हो’,विज्ञप्तिमा भनिएको छ,‘काउन्सिलको क्षेत्राधिकारलाई नजरअन्दाज गर्दै अदालतबाट भएको यो आदेश प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता, नेपालको संविधान २०७२ को व्यवस्था र मर्मविपरीत भएको महासंघको ठहर छ ।’

त्यसैगरी, महासंघले अदालतको सो आदेशप्रति गम्भीर आपत्ति जनाएको छ । उक्त आदेशप्रति पुनःविचार गर्न आग्रह गर्दै महासंघले त्यसो नभएमा कानुनी प्रक्रियामा जाने बताएको छ । आफूविरुद्ध समाचार प्रकाशित गर्ने दुई अनलाइनउपर कारबाहीको माग गर्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले काठमाडौं जिल्ला अदालतमा रिट निवेदन दायर गरेका थिए । 

न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले हिजो उनीविरुद्ध प्रकाशित समाचारहरु ‘तुरुन्त हटाउन’ आदेश दिएको थियो । यसलाई लिएर सरोकारवालाहरुले चासो र चिन्ता प्रकट गरेका छन् ।

टिप्पणीहरू