रास्वपाको पाँच बुँदे एमालेलाई अमान्य, माओवादीको प्रस्ताव नमाने पेलेर जाने
सत्तारुढ दल नेकपा (एमाले)ले सदनको अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले अघि सारेको दुई बुँदे ड्राफ्ट मान्न तयार भएको बताएको छ । पार्टी सचिवसमेत रहेका सांसद योगेश भट्टराईले आज संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादीको प्रस्तावमा सत्तापक्ष सहमत भएको बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको पाँच बुँदे प्रस्तावमा भने छलफल नै नहुने उनको भनाई छ । ‘रास्वपाले अघि सारेको पाँच बुँदे प्रस्ताव सम्भव छैन, त्यसमा छलफल पनि हुँदैन’, उनले भने, ‘माओवादी पठाएको दुई बुँदे ड्राफ्टमा चाहिँ हामी सकारात्मक छौ, त्यही विषयमा सहमति जुटाएर सदन अघि बढ्छ ।’
सांसद भट्टराईले माओवादीको ड्राफ्टमा पनि सहमति नजुटे पेलेर भए पनि सदन अघि बढाउने संकेत पनि गरे । ‘भोलि दिउँसोसम्म माओवादीको ड्राफ्टमा सबै विपक्षी दलहरु छलफल हुन्छ होला, सहमति जुट्यो भने धेरै राम्रो, नत्र यसरी सधैँ अवरोध कायम राख्न सकिदैँन, संसदले आफ्नो नियमावली पल्टाएर अघि बढ्छ’, उनले भने ।
उता, राष्ट्रिय स्वतन्त्र पार्टीले भने पाँच बुँदे प्रस्तावमा सत्तापक्ष सहमत नभए संसद अवरोध नछाड्ने बताएको छ । सांसद सोभिता गौतमले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नतालाई पुष्टी गर्नसक्ने प्रमाणहरु भेटाएको भन्दै अडान नछाड्ने बताएकी हुन् ।
‘भिजिट भिसा प्रकरणका प्रशस्त प्रमाणहरु हामीसम्म आइपुगेका छन्, यसलाई त्यतिकै डिसमिस गर्न मिल्दैन, सिरियस इस्यु हो, त्यसकारण पनि यो विषयलाई हामी निष्कर्षमा पुर्याएरै छाड्छौँ’, उनले भनिन् ।
टिप्पणीहरू