काँग्रेस,एमालेसँगै प्रचण्ड पनि संसद चलाउन तयार

काँग्रेस,एमालेसँगै प्रचण्ड पनि संसद चलाउन तयार

दुई सातादेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक भोलिदेखि खुल्ने संकेत देखिएको छ । यो वर्षको बजेट अधिवेशन प्रारम्भ भएको दिनदेखि विपक्षी दलका सांसदहरुका कारण बैठक बस्न सकेको छैन । उनीहरुले संवैधानिक रुपमा सरकारले जेठ १५ गते प्रस्तुत गर्नुपर्ने आर्थिक वर्ष २०८२–८३ को बजेटका लागि केही घण्टा बैठक सञ्चालन गर्न दिए पनि त्यसपछि अवरुद्ध छ । 

आज पनि बैठक कार्यसूचीमा प्रवेश गर्न लाग्दा विपक्षी दलका सांसदहरुले होहल्ला गरेपछि सभामुख देवराज घिमिरेले भोलिसम्मका लागि स्थगित गर्नुभयो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि आरोप लागेपछि पहिले राजीनामा र अहिले संसदीय समितिले छानबिन गर्नुपर्ने माग विपक्षी दलको छ । त्यसमा सबैभन्दा चर्को माग रवि लामिछाने नेतृत्वको रास्वपाको छ । लामिछाने सहकारीको रकम अपचलन काण्डमा पुर्पक्षका लागि भैरहवा जेलमा रहेकाले काठमाडौंस्थित डिल्लीबजार सदरखोरमा आउने उनको चाहनालाई अहिलेको संसद अवरोधसँग जोडेर हेरिएको छ ।  

संसद बैठक खुलाउन आज काँग्रेस, एमाले र माओवादी केन्द्रका सात जना सांसदबीच छलफल भएको छ । काँग्रेसका पूर्णबहादुर खड्का,गगन थापा,ज्ञानेन्द्रबहादुर कार्की र रामहरि खतिवडासँगै एमालेका महेश बर्तौला, योगेश भट्टराई र माओवादीका वर्षमान पुनबीच त्यसबारे अपरान्ह लामै कुराकानी भएको बताइन्छ । 

त्यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपासँग कुरा गरेर बैठक सुचारु गर्ने वचन दिनुभएको एकजना सांसदले बताए । ‘प्रचण्डले भोलिसम्म रास्वपासँग कुरा गरेर अघि बढाउने भन्नुभएको छ । भोलि संसदमा घण्टी बज्छ,’ उनले ढुक्क हुँदै भने ।

टिप्पणीहरू