बालेनले गरिखान दिएनन् भन्दै मन्त्रालयमा हारगुहार
काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) साहले तल्लो वर्गलाई हेपेर गरिखान नदिएको भन्दै कवाड व्यवसायीहरु मन्त्रीलाई कुरा लगाएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर उनीहरुले कवाड व्यवसाय बालेनका कारण धरासायी बनेको बताए ।
व्यवसायीहरुले अर्थमन्त्रीलाई महानगरको गुण्डागर्दी र ज्यादती रोकिदिन आग्रह गरेका छन् । सोक्रममा उनीहरुले लिखित ज्ञापन पत्र पनि बुझाए ।
महानगरले विगत दुई वर्षदेखि प्रहरी परिचालन गरेर गुण्डागर्दी शैलीमा कवाड व्यवसायी तथा संकलकहरुमाथि कुटपिट गर्ने, अपहरण गर्ने, संरचना भत्काइदिने र समान जफत गर्दै आएको गुनासो ज्ञापन पत्रमा गरिएको छ । झयसबाट झण्डै एक लाख व्यवसायी प्रत्यक्ष प्रभावित भएको जनाइएको छ ।
सरकारलाई बुझाउनुपर्ने कर नियमति बुझाउदै आएको र मुलुकमा सञ्चालित मेटल उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थसमेत उपलब्ध गरिरहेको अवस्थामा महानगरले अमानवीय व्यवहार गरिरहेको समाजका अध्यक्ष राम केवल गुप्ताले बताए ।
‘काठमाडौँ महानगरका प्रहरीको कुटपिटको कारण दर्जनौँ कवाड व्यवसायीको टाउको फुटेको छ र अंगभंग भएका छन्’, उनले भने, ‘खासगरी भन्ने हो भने मेयर बालेन साहले काठमाडौँ महानगरबाट गरिब जनता र गरीखाने वर्गलाई हटाउन खोजेका छन् ।’
अध्यक्ष गुप्ताले बालेनकै कारण कयौँ कवाड व्यवसायीहरुको परिवार विचलित हुने अवस्थामा पुगेको पनि अर्थमन्त्री पौडेललाई जानकारी गराए । ‘हामीमाथि भइरहेको यो प्रकारको गुण्डागदी र ज्यादतीलाई तत्काल रोक लगाई कवाड व्यवसायीको जिउधनको रक्षाको लागि अनुरोध गर्दछौँ’, ज्ञापन पत्रमार्फत उनले भनेका छन् ।
टिप्पणीहरू