दुःखी हुने किन ?

सुखचाहिँ हो के र ? उही मनकै भाव होइन ? दुःख भनेपनि, सुख भनेपनि हामीले नै मान्ने कुरा हो । दुःख माने दुःखै हुन्छ, सुख माने सुखै । हरेक दिन सुख मानौं न ! दुःखी हुनै पर्दैन । किनकि प्रत्येक दिन जीवनको एउटा अवसर हो । आखिर मरीलानु के छ र ? जन्मँदा खालि हात आयौं । खालि हात नै जाने हो एक दिन !! फेरि के पाएनौं र ? के भएन ? जीवन छँदैछ, बाँचुन्जेल त सुख मनाऔं । पीर किन मान्ने ? दुःख, पीर, चिन्ता, भय जस्ता जीवनका नकारात्मक पक्षलाई अस्वीकार गरौं, हामीमा हाबी हुनै नदिऔं त बिस्तारै हट्दै जानेछन् ।
अहिलेको समयमा धेरै मान्छे पीर चिन्ता र तनावको जीवन बाँचिरहेछन् । जीवनलाई प्रतिस्पर्धा जसरी भागदौडमा लगाइएको छ । मानिसहरु थकित अनि, त्यसै–त्यसै दुःखित छन् । स्वयम्को स्थिति भन्दा पनि अरुको अवस्थिति हेरेर आफूमा सुख–दुःख मनाउ गर्ने प्रवृत्ति छ । तर खरायो र कछुवाको रेस जस्तो मान्छेको जीवन होइन । अरुलाई उछिनेर पुग्ने पो कहाँ हो र ? सबैजना ढिलोचाँडो पुग्ने त उही मसानघाट नै हो ।
जीवन रहुञ्जेल सक्दो उन्नति प्रगति गर्ने हो । भनेझैं भएन वा अरुजति अगाडि बढ्न सकिएन भनेर दुःखीभाव मनमा ल्याउनु अवनतिको अर्काे कारण बन्न जान्छ । त्यसैले जे छ त्यसैमा सन्तोष मानेर रमाउनुपर्छ, भएन भनेर दुःखी हुनु व्यर्थ छ । प्रेम, अध्ययन वा जागिरमा असफलता, व्यवसायमा नोक्सानी, आर्थिक विपन्नता, आफन्तसँगको वियोग आदि-इत्यादी कारणबाट मानिसहरु चिन्तामा डुबेर जीवनलाई सास्ती दिइरहेका छन् । अरु केही नभएपनि दुई छाक खान पाएकै छौं, एकसरो लाउन पुगेकै छ र ओत लाग्ने ठाउँ पनि छ भने त्यो भन्दा ठूलो सुख अरु हुनै सक्दैन । अरु त पछिका कुरा हुन्, भएपनि ठिकै, नभए नि चलेकै छ ।
कसैसँग साथ छुट्यो भनेर दुःखी हुनु पनि किन ? जीवन एक यात्रा हो, यात्रीहरु छुट्टिने र भेटिने भइरहन्छ । प्रियजनको मृत्यु हुँदा ऊसँग साथ छुट्यो वा उसको जीवन सकियो, अब सबथोक बर्बाद भयो भन्ने ठान्दा दुःख–पीडा बढी हुन्छ भने एकदिन त मरेरै जानुथियो, उसको समय आयो गयो, आत्माले नि शान्ति पायो भन्ने भावले सोच्ने हो भने उति पीडा हुँदैन ।
शरीरको चोटकै कुरा गरौं न ! हामीले नै ज्यादा दु:खाइ महसुस गर्यौँ भने पीडा बढी हुन्छ, कम दुःखेको अनुभूतिले वास्तविक दुखाइ पनि घटाउँछ । सबै कुरा हामीले सोच्ने तरिकामै भर पर्छ । आ–आफ्नो सोचअनुसारकै संसार सबैले जिइरहेका छौं होइन र ? रोगबारे पनि त्यस्तै हो, ममा कुनै रोग छ, यसले मेरो हालत बिग्रिराछ, मलाई सताइराछ भन्ने सोच्यो भने त्यसले अरु सताउँछ । हैन मलाई ठिकै छ, सन्चो भइराछ भन्ने निरन्तर सोच्न थालियो त्यो रोग पनि बिस्तारै हट्दै जान्छ भनी विज्ञहरुले त्यसै बताउँदै आएका होइनन् । यसमा धेरै अध्ययन अनुसन्धान भइसकेको छ ।
डिप्रेसन ठूलो समस्या हुँदै होइन, कुनै उल्झनमा अल्झिन पुगेको अवस्थामा जीवन शुद्धीकरण र सुदृढीकरणको एउटा प्रक्रिया हो । डिप्रेसनकै अवस्थामा लेखिका जे.के. रोलिड्डले ह्यारी पोटर पुस्तक लेखेर दुनियाँलाई चकित पारेकी होइनन् ? त्यसबाट कैंयौं फिल्म समेत निर्माण भए, आज उनी संसारकै सर्वाधिक धनी राइटरमा गनिन्छिन् । बलिउड सेलिब्रेटीहरु दिपिका पादुकोण, शाहरुख खान, करन जोहर लगायत पनि डिप्रेसनबाट खुलेकै छन्, तङ्ग्रिएका छन् ।
जीवनमा एउटा कुनै कुरा छुट्यो भनेर विलाप गर्दै बस्नु केवल अज्ञानतामात्र हो । नत्र विकल्प अनेक छन् । कहिलेकाहीँ हामी यात्रा गर्ने गाडी छुट्दा अगाडिको गाडी दुर्घटना भएको अवस्थामा हामी पछाडिकोमा सुरक्षित हुन पुग्छौं । यस्तै, अगाडिको गाडी छुट्यो र पछाडिकै दुर्घटना भयो भने नियतिको खेललाई सबैले स्वीकार्नै पर्छ । हात नभए खट्टा छ, खुट्टा नभए हात । आँखा नदेख्नेले बोल्न सक्छन्, सुन्न सक्छन् । लाटोले पनि देख्न र सुन्न त सक्छ नि ! जोसँग जे छ त्यसमै खुशीयाली मनाउने हो । अनि बल्ल आउँछ जीवन जिउनुको असली मजा ।
‘जीवन काँडा कि फूल ?’ की जन्मदाता झमक घिमिरे पनि आफ्नो अपाङ्गतामा दुःख मानेरै बस्थिन् भने सायद उहिल्यै सकिने थिइन् । तर उनले आँट गरिन्, कठिन अवस्थामा आफ्नो सिर्जनशीलतालाई मर्न दिइनन्, पलपल सघंर्ष गर्दै अगाडि बढिन्, आज अन्य साधारण जीवनभन्दा उनको स्थान उच्च नै छ । मान्छेको जीवनमा समस्या कसलाई हुँदैन ? समस्या भयो भनेर दुःखी भइरह्यो भने समाधान कहाँ र कसरी पाउने ?
मान्छेले पहिले गर्दै आएको कामकुरा पनि जब कुनै पीरचिन्ताले विचलित भएर डर र उदासीनताको कारण सक्दिनँ कि ! अब मबाट हुँदैन कि भन्ने सोच्न थाल्छ, त्यही भाव र विचार उसमा दोहोरिँदै गएर पछिपछि ऊ साँच्चिकै असक्षम हुन पुग्छ । त्यसैले हिम्मतलाई कहिल्यै हार्न दिनु हुँदैन । बरु चरेस खानु, हरेश नखानु भन्ने हाम्रो पुख्र्याैली उक्ति नै छ ।
लागुऔषधको दुव्र्यसनमा फसेकाहरु पनि त्यसबाट माथि उठ्न सके सामान्यभन्दा उच्च जीवनयापन गर्न सक्छन् । मानसिक स्वास्थ्यको आधुनिक विज्ञान भनिएको विश्वप्रसिद्ध पुस्तक डाइनेटिक्समा पनि विचलनका एनग्रामहरुलाई हटाउँदै गएपछि व्यक्ति साधारणभन्दा अझ राम्रो अवस्थामा पुग्ने कुरा उल्लेख छ । डिप्रेसनको केसमा पनि त्यस्तै हो, यसलाई जितेर अगाडि बढ्न सक्ने मानिसहरु अरुभन्दा अब्बल नै हुनेछन् ।
ईश्वरले पनि कतिपय अवस्थामा तिनै मान्छेलाई बढी दुःख दिएर परीक्षित गर्छन्, जससँग कुनै खास सम्भावना छ, त्यो बेला उसले साहसमात्र देखाउन सकेन भने काम छैन । भगवानले तँ आट म पुर्याउँछु भन्छन् भन्ने त कहावत नै छ । हेरौं न, दुःखलाई जितेर माथि उठेका मानिसहरु नै शिखरमा पुगेका छन् । यसको मतलब जिन्दगीलाई प्रतिस्पर्धात्मक रुपमा लिने नै होइन । कसैको वास्ता नगरी अगाडि बढ्दा नै सबैलाई फाइदा हुन्छ । अरुसँगको धेरै आशाले पनि निराशा ल्याउन सक्छ । हाम्रो कमजोरी पत्ता लगाएर हामीलाई दुःखी बनाउन दुष्टहरुले जे पनि गर्न सक्छन्, त्यो अवस्थामा हामीले उनीहरुको बेवास्ता गरिदिनुपर्छ । दत्तचित्त भएर आफ्नो लक्ष्यको बाटोमा अगाडि बढिरहनुपर्छ । कुनै पनि कुरामा अरुले दुःख दिन खोज्छन् भने पनि त्यो चुनौतीलाई अवसरको रुपमा लिइदिनुपर्छ ।
जसले परिस्थितिको सही सामना गर्छ, उसको जीवन स्वतः उन्नत हुन्छ । टुप्पाबाट पलाएको भन्दा फेदबाटै हुर्किएको राम्रो । हरेक चुनौतीको सामना गर्नु, समय, काल र परिस्थितिको हिसाबले बाँच्न सक्नु वा त्यसै अनुरुप आफूलाई ढाल्न सक्नु नै जीवन जिउने कला हो । पानीले जस्तो भाँडो छ, त्यही अनुरुप आफूलाई आकार दिन सक्छ । जुन रंग मिसिन आउँछ आफू पनि त्यस्तै भइदिन्छ ।
जति फोहोर मिसिँदै बगेपनि आखिरी समुद्रमा त पानी आफ्नै रंगमा हुन्छ । हावा पनि स्थानको आधारमा आफ्नो आकार बनाउन सक्षम छ र त यी जीवन्त छन् । निर्जीव ढुंगा ठाउँअनुसार यत्तिकै अटाउन सक्दैन, त्यसलाई फुटाउनैपर्छ । त्यस्तै हाम्रो मूढ शरीरमा खुट्टा त जुत्ताअनुसार नमिल्ने हुन्छन् । जड देहलाई चलायमान गराउने मनमा मात्र सर्वत्र फैलिन–खुम्चिन सक्ने खुबी छ र त मन (आत्मा) सदा अजरअमर छ । यो मनलाई जस्तो सोचमा ढालिन्छ, त्यस्तै हुन्छ मान्छेको जीवन ।
आज बिहान नारायणगढ, प्रेसमार्गमा हिँड्दै गर्दा कसैसँग फोनमा बोल्दै गरेकी एउटी युवतीले ‘जे भए पनि हाँसिरहनुपर्छ’ भनेको सुनियो । यसरी हामीले यी कुरा अरुलाई भन्न जति सजिलो छ, गर्नलाई गाह्रै छ तर असम्भव होइन । धेरैले गरेकै छन् । कठिन काम गर्नेहरु नै अन्ततः बलशाली हुन जान्छन् । अप्ठेरोमा पनि सप्ठेरो देख्न सक्नुपर्छ अनि बल्ल जीवन सहज हुन्छ । सोच दुःखको बनायौं भने जीवन र संसारै दुःखलाग्दो प्रतीत हुन्छ । जब सोचमा खुशी र सुखका भाव भर्दै जान्छौं, जीवन खुशी खुशी नै हुनेछ । सानो–सानो कुरामा पनि खुशी हुन सिक्दै गयौं भने जीवनमा खुशीको लहर आफसेआफ बढ्दै जान्छ।
दुःख भनेको पनि त ताप हो, कहिलेकाहीँ तपाउनुपर्छ जीवनलाई । डराउनुहुँदैन, दुःख देखेर आत्तिने, डराउने, भाग्ने गर्न थाल्यो भने त्यो मान्छे काम छैन । दुःखलाई त हाँसीहाँसी टारिदिनुपर्छ । जस्तोसुकै नराम्रा परिस्थितिमा पनि हाँसिरह्यौं भने हाम्रो अविचलित संघर्ष र मुस्कानदेखि सुख आफैं वर–वर सर्दै हाम्रो बाहुपाशमा खिचिन्छ । चिन्ता मान्नैपर्दैन । हामीले केही कुरामा पनि हीनभाव राख्न जरुरी छैन । निर्भय हुन सकारात्मक सोचकासाथ अनुशासनचाहिँ आफैंमा हुनुपर्छ ।
टिप्पणीहरू