तीन ‘ब’ पालैपालो चीनतिर

तीन ‘ब’ पालैपालो चीनतिर

सत्तारुढ नेपाली काँग्रेसका डेढ दर्जन नेता चीन उडेको तेस्रो दिन आज सरकारको नेतृत्वकर्ता नेकपा एमालेको एक टोली उत्तर भ्रमणमा निस्किएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार तथा एमाले उपमहासचिव विष्णु रिमालको नेतृत्वमा टोली आज दिउँसो ग्वाङझाउ प्रस्थान गरेको हो । 

चाइना साउदर्नको उडानमार्फत दिउँसो पौने एक बजे काठमाडौँबाट उडेको टोलीमा प्रधानमन्त्री ओलीका स्वकीय सचिव रामशरण बजगाई र सहसचिव अरुण लम्साल छन् । उनीहरूको भ्रमणबारे थप जानकारी भने गराइएको छैन ।

नेकपा एमाले,माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत कम्युनिष्ट पार्टीका नेताहरूलाई लगातार भ्रमण गराइरहेको चीनले यसपटक भने काँग्रेसलाई पनि प्राथमिकतामा राखेको छ । काँग्रेस नेता बलबहादुर केसीको नेतृत्वमा शुक्रबार काठमाडौँबाट उडेको १७ जनाको टोली यतिबेला बेइजिङमै छ । 

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी), अन्तर्राष्ट्रिय विभागको निम्तोमा कांग्रेस नेताहरु पाँचदिने भ्रमणका लागि चीन गएका हुन् । टोलीमा केसीकी पत्नी तथा कांग्रेस नेतृ रिना उप्रेती,कांग्रेस धनकुटाका पूर्व सभापति मनोहरनारायण श्रेष्ठ,सङ्खुवासभाका पूर्व सभापति दिपेनकुमार श्रेष्ठ, अर्घाखाँचीका पूर्व सभापति विष्णुमुस्कान खनाललगायत छन् । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि चीन जाँदै छन् । असार १० देखि १२ गतेसम्म बेइजिङमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंक बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा सहभागी हुन त्यता जाने कार्यक्रम तय भएको हो । एमाले उपाध्यक्षसमेत रहेका पौडेलले त्यस दौरान चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुलाई पनि भेट्ने छन् । 

नेपाली नेताहरुको एकपछि अर्को चीन भ्रमण भैरहँदा केही हप्ता अघिमात्रै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि चीन पुगेकी थिइन् । चिनियाँ कम्युनिष्ट पार्टी र त्यहाँको सरकारको निमन्त्रणामा एमाले नेताको हैसियतमा साताव्यापी भ्रमण गरेकी उनलाई बहालवाला राष्ट्रप्रमुख सरह भव्य स्वागत गरिएको थियो । 

त्यसअघि माओवादी केन्द्रका सचिव दिनानाथ शर्मा नेतृत्वको टोलीले पनि चीन भ्रमण गरेको थियो ।

टिप्पणीहरू