ललितपुरमा तीन महिना सडक खन्न रोक
ललितपुर महानगरपालिकाले सडक तथा फुटपाथ खन्ने कार्य रोकेको छ ।
महानगरले आज सार्वजनिक सूचना निकालेर भदौ मसान्तसम्म त्यस्ता कार्यमा रोक लगाएको जानकारी दिएको हो ।
वर्षायाममा सडक, फुटपाथ खन्दा सवारी दुर्घटना एवं पैदलयात्रुलाई सास्ती हुने उल्लेख गर्दै महानगरले आगामी तीन महिना खन्ने कार्यको स्वीकृति रोक्का गरिएको जनाएको छ ।
‘यस वर्षको वर्षात निकट भविष्यदेखि नै शुरु हुन गइरहेको हुँदा मिति २०८२ असार, साउन र भदौ (तीन महिना) को लागि सडक खन्ने, पैदल मार्ग (फु्टपाथ) बिगार्ने कार्यको स्वीकृति गर्न रोक्का गरिएको सूचित गरिन्छ’,सूचनामा भनिएको छ ।
त्यसैगरी, महानगरले सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ मा भएको व्यवस्थाबमोजिम सम्बन्धित निकायबाट स्वीकृति–सहमति लिएर मात्र सडक तथा फुटपाथ खन्न सचेत गराउँदै अटेरी गरिएमा नियमानुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
टिप्पणीहरू