अमेरिकामा नयाँ नेपाली अड्डा,काम नथाल्दै समस्या
अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान फ्रान्सिस्कोमा नेपाल सरकारले कन्सुलेट कार्यालय स्थापना गर्ने तयारी थालिरहँदा कूटनीतिक कर्मचारी र स्थानीय नेपाली समुदायबीच विवाद उत्पन्न भएको छ। कन्सुलेट कार्यालयको औपचारिक स्थापना हुनुअघि नै आयोजित केही कार्यक्रमहरूले स्थानीय संघसंस्थाहरूमाझ असन्तुष्टि निम्त्याएको छ,जसले कूटनीतिक मर्यादा र समन्वयको अभावलाई उजागर गरेको छ । यो विवादले कन्सुलेट कार्यालय स्थापनाको प्रक्रियामा समेत नकारात्मक प्रभाव पार्ने जोखिम बढाएको छ।
नेपाल सरकारले सान फ्रान्सिस्कोमा कन्सुलेट कार्यालय स्थापना गर्न कूटनीतिक कर्मचारीहरू ऋषिराज आचार्य र देवदूत ढकाललाई अमेरिका पठाएको थियो । उनीहरूले कार्यालय स्थापनाको प्रारम्भिक तयारीका लागि स्थानीय नेपाली समुदाय र संघसंस्थाहरूसँग समन्वय गर्नुपर्ने अपेक्षा थियो । तर,यसवीच गैरआवासीय नेपाली संघ (एनआरएनए) मा आएको बिभाजनकारी विवादका कारण क्यालिफोर्निया च्याप्टरलगायतका प्रमुख स्थानीय संगठनहरूसँग खासै समन्वय हुन पाएन ।
स्थानीय पत्रकार माधव मरासिनीका अनुसार,कन्सुलेट कार्यालय स्थापनाको प्रारम्भिक चरणमै यस्तो असमझदारी देखिनु चिन्ताको विषय हो । उनले यो विवादले नेपाली समुदायको एकता र कूटनीतिक पहलमा नकारात्मक असर पार्न सक्ने बताए । मरासिनीले थपे, “कन्सुलेट कार्यालय स्थापनाजस्तो महत्त्वपूर्ण कदममा समन्वय र पारदर्शिता आवश्यक हुन्छ तर यहाँ त्यसको अभाव स्पष्ट देखिन्छ।”
कूटनीतिक टोली आज मंगलबार बिहान सान फ्रान्सिस्को पुग्ने तयारीमा रहेको जानकारी प्राप्त भएको छ ।
टिप्पणीहरू