बाढी पहिरोले आधा दर्जन राजमार्ग अवरुद्ध
वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका आधा दर्जन राजमार्ग तथा सडक अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीका अनुसार सिन्धुपाल्चोक, म्याग्दी र डोल्पाका मुख्य राजमार्ग तथा सडकमा पहिरो खस्दा आवागमन प्रभावित भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१, २ र ३ मा पर्ने अरनिको राजमार्ग, म्याग्दीको बेनी–जोमसोम सडकखण्ड र डोल्पाको भेरी करिडोर अवरुद्ध भएको हो ।
त्यस्तै, पूर्वी नवलपरासीस्थित महेन्द्र राजमार्गमा बाढीले सडक ठप्प हुँदा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ । निरन्तर वर्षाका कारण दुम्कीबास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोला लगायतका स्थानमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने भई आवागमन असहज भएको पनि जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जानकारी गराएको छ ।
बाढी पहिरोकै कारण अवरुद्ध भएका बाँकी पाँच वटा सडकखण्ड भने एकतर्फी सञ्चालनमा रहेको प्रहरीले बताएको छ । साथै, अवरुद्ध सडक तथा राजमार्ग खुलाउने प्रयास भइरहेको पनि जनाइएको छ ।
टिप्पणीहरू