अमरेशको कुरामा एमालेको आपत्तिपछि संसदमा खैलाबैला
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बजेटप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री र मन्त्रीहरुको गृह जिल्लाबाहेक अन्य जिल्लालाई लिजमा दिनुपर्ने बताएपछि संसदमा खैलाबैला भएको छ ।
सत्तारुढ एमालेका सांसदले उक्त अभिव्यक्तिको विरोध गरेका छन् । प्रभावशाली व्यक्तिको निर्वाचन क्षेत्रमा एकलौटी बजेट खन्याउने प्रवृत्तिमाथि गरेको कटाक्षपूर्ण टिप्पणीको विरोधमा एमाले सांसद महेश बर्तौलाले सिंहमाथि कारवाही माग गरिरहेका छन् ।
मन्त्रालयगत विनियोजनमाथिको छलफलमा भाग लिदै सांसद सिंहले प्रधानमन्त्री र मन्त्रीहरुको जिल्लामा मात्रै ठूला योजना पारेको बताएका थिए । ‘उपप्रधान तथा शहरी विकासमन्त्रीज्यूको जिल्लामा १३० भन्दा बढी योजना परेका छन्, तर मेरो जिल्लामा २० वटा पनि परेको छैन’, उनले भने, ‘योजनाहरु कि सुदूरपश्चिम (डडेल्धुरा) पुगेका छन्, कि पूर्व (झापा)तिर पुगेका छन्, केही मन्त्रीहरुको जिल्लालाई मात्रै नेपालमा राखौँ, अरु जिल्लालाई लिजमा दिए पनि हुन्छ ।’
सांसद सिंहले यसो भनिरहँदा बर्तौलाले आपत्ति जनाए । र, सो अभिव्यक्ति राष्ट्रघाती भएको दाबी गरे ।
‘संसदको रोष्ट्रममा उभिएर खुलमखुल्ला मुलुकलाई अर्को मुलुकमा गाभौँ भन्ने अभिव्यक्ति सरासर राष्ट्रघाती छ’, उनले भने, ‘विगतमा पनि उहाँको अभिव्यक्ति ठीक छैन, उहाँमाथि कारवाही होस्, उहाँलाई बोल्ने कुरामा सचेत हुन रुलिङ होस्, कारवाही अविलम्ब सुरु गरियोस् ।’
त्यसपछि सभामुख घिमिरेले सांसद सिंहलाई सचेत गराउँदै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिए ।
टिप्पणीहरू