मित्रपार्क–गौरीघाट सडकमा चल्ने गाडी अन्यत्र ‘डाइभर्ट’
निर्माण कार्यले सडक ठप्प भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मित्रपार्क–गौरीघाट सडकखण्ड भएर चल्ने सवारी साधनलाई ‘डाइभर्ट’ गरेको छ ।
मित्रपार्कबाट गौरीघाट हुँदै करिडोर भएर गुड्ने सवारी साधनलाई दिव्य पार्टी प्यालेसअगाडि र मित्रपार्कबाट डाइभर्ट गरिएको कार्यालयले जनाएको छ । सो कारणले गौशाला, जयबागेश्वरी, मित्रपार्क, चाबहिल, गोपीकृष्ण पुल, चुच्चेपाटी सडकखण्डमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
कार्यालयले एक सूचना जारी गर्दै सो रुट भएर चल्ने सवारी साधनलाई वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ ।
‘सडक ढलानको काम भइरहेकोले काठमाडौंको मित्रपार्कबाट गौरीघाट हुँदै करिडोर भएर चल्ने सवारी साधनलाई दिव्य पार्टी प्यालेसअगाडि र मित्रपार्कबाट डाइभर्सन गरेर चलाइएको छ’,सूचनामा भनिएको छ,‘उक्त डाइभर्सनको कारण गौशाला, जयबागेश्वरी, मित्रपार्क, चाबहिल, गोपीकृष्ण पुल, चुच्चेपाटी सडकखण्डमा सवारी चाप हुने हुँदा सो रुट भएर चल्ने सवारी साधनहरुलाई वैकल्पिक बाटोको प्रयोग गर्नहुन अनुरोध गरिएको छ ।’
टिप्पणीहरू