बजेटको निष्पक्षता जाँच्न संसदीय समिति गठनको माग

बजेटको निष्पक्षता जाँच्न संसदीय समिति गठनको माग

सत्तारुढ नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले अगामी आर्थिक वर्षको बजेट विनियोजनमा मनोमानी भएको भन्दै छानविनको माग गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले विनियोजन प्रक्रिया ठीक छ कि छैन भनेर संसदीय छानविन समिति गठन गर्न माग गरेका हुन् । बजेट विनियोजन ठिक भए-नभएको अध्ययन गर्न संसदीय समिति बनाउनुपर्ने नभए सुशासन समिति वा सार्वजनिक लेखा समितिमा पठाउनुपर्नेमा सांसद केसीले जोड दिए । 

‘दुई वटा उपप्रधानमन्त्रीसँग मेरो विनम्रतापूर्वक आग्रह छ तपाईले बजेटमा प्रस्तुत गर्नुभएअनुसार विनियोजन ठिक छ कि छैन भनेर एउटा संसदीय समिति बनाऔँ । त्यसले छानविन गरोस्', उनले भने, ‘यदि संसदीय समिति हुन्न भने सुशासन समिति वा लेखा समितिमा पठाइयोस् । यो मनपरी ढंगले जसरी विनियोजन गर्ने काम भएको छ त्यो दु:खद् मात्र होइन खेदपूर्ण हो सम्माननीय सभामुख महोदय ।'

सांसद केसीले बजेट वितरणमा समान व्यवहार नभएको उल्लेख गर्दै मन्त्री र शीर्ष नेताहरूको जिल्लामा परेको बजेट र अन्य जिल्लाको बजेटबीच तुलना गरेर हेर्नुपर्ने बताए ।  

‘मेरो गुनासो के हो भने तद्अनुरुप समान व्यवहार भयो कि भएन ? नयाँदेखि पुराना सबै माननीयहरुलाई बजेटले सन्तुलित गर्ने काम गर्यो कि गरेन ?’, केसीले प्रश्न गरे, ‘मन्त्रीज्युहरु र शीर्षस्थ नेताहरुको जिल्लामा राखिएको बजेट र पूरै देशको बजेट एक ठाउँमा राखेर तुलना गरौँ के स्थिति हुन्छ ? यसमा छानविन गर्नुपर्छ ।’

उनले बजेटको सिद्धान्तअनुसार विनियोजन नभएको भन्दै आपत्ति जनाए ।

टिप्पणीहरू