शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संस्थासँग कागजात माग
चितवनमा शैक्षिक परामर्श तथा भाषा सिकाउने संस्थाहरुले कानूनविपरीत काम गरेको जनगुनासो बढेपछि स्थानीय प्रशासनले त्यसप्रति चासो देखाएको छ । प्रशासन कार्यालयले जिल्लामा सञ्चालित शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण गराउने संघ संस्था तथा कम्पनीसंग कागजात मागेको छ ।
सिडिओ कार्यालयले सम्बन्धित निकायबाट लिएको इजाजतपत्र, व्यवसाय दर्ता प्रमाणपत्र, आन्तरिक राजस्व कार्यालयको दर्ता विवरण, नियमित नवीकरण प्रमाण, तोकिएको स्तरको भाषा प्रशिक्षकको कागजात र करार सम्झौता, परामर्शदाताको विवरणलगायतका कागजात मागेको हो ।
यस्तै, घर भाडा सम्झौता र दाखिला, विदेशी प्रशिक्षक रहेको भन्ने प्रचारप्रसार सामग्रीसमेत रहेकोमा श्रम स्वीकृति, राहदानी, भिसा म्याद भएका कागजात र शाखा सञ्चालनको अनुमति लिएको भए सोसम्बन्धी अनुमतिपत्र पनि बुझाउन भनिएको छ । आगामी शुक्रबारभित्र कागजात पेश गर्न निर्देशन दिँदै कागजात उपलब्ध नगराइए वा मापदण्ड पूरा गरेको नपाइए कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
‘चितवनमा सञ्चालनमा रहेका शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण गराउने संस्थाहरुबाट प्रशिक्षण र परामर्श गराउनुपर्नेमा केही संस्थाले प्रचलित कानूनले तोकेका कार्यहरुबाहेक भिसा प्रोसेस, जब ग्यारेन्टी, ट्राभल एजेन्सी र सहकारी संस्थासँग मिलमतो गरी नक्कली कागजात बनाएको, मेनपावरले गर्ने काम व्यक्तिगत–संस्थागत रुपमै गरेको भन्नेसमेतका गुनासा एवं उजुरीका सम्बन्धमा तोकिएको विवरण अद्यावधिक गरी सात दिनभित्र देहायबमोजिमका कागजात उपलब्ध गराउनहुन सरोकारवाला सबैमा अनुरोध छ,’ सिडिओ कार्यालयको सूचनामा उल्लेख छ ।
टिप्पणीहरू