इसाइ मण्डलीसँग अस्पतालको सम्झौता
चितवनको भरतपुर–१० स्थित पुष्पाञ्जली हस्पिटल प्रालिले मकवानपुरका विभिन्न नौवटा चर्चहरुसँग उपचार छुट दिनेगरी सम्झौता गरेको बताएको छ ।
मनहरी-७ को आशा मण्डली रमौलीका पास्टर गोविन्द प्रजा, बिजौना मण्डलीका संरक्षक आमस प्रजा, आशिस चर्च, ल्लाच्यो चर्च, कुनाले चर्च र झ्यान्झरे चर्च राक्सिराड्ड–८ का पास्टर बुद्धिलाल प्रजा, राक्सिराड्डकै चामन्ति शान्ति चर्च, ग्याडर्याङ चर्च र तम्का चर्चका पास्टर तुलबहादुर मोक्तानसँग उनीहरुका मण्डलीलाई उपचार सेवामा २५ प्रतिशतसम्म छुट दिने सम्झौता गरिएको अस्पतालका सामाजिक सेवा इकाइ प्रमुख केदारप्रसाद सुवेदीले बताएका छन् ।
सम्झौता पत्रमा सुवेदी र प्रबन्ध निर्देशक सुजनराज अधिकारीको हस्ताक्षर रहेको जनाइएको छ । सबै समुदायसँग पुष्पाञ्जली हस्पिटल पुग्ने र भाइचारा सम्बन्ध स्थापना गर्दै अस्पतालमा आएका बिरामीलाई गुणस्तरीय सेवा प्रदान गरिने अस्पताल सञ्चालक वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी बताउँछन् ।
टिप्पणीहरू