मन्त्रिपरिषद्को पछिल्लो बैठकले पनि अघिल्लामा झैँ मन्त्री र सचिवहरुको विदेश भ्रमणलाई स्वीकृत गरेको छ ।
शुक्रबारको बैठकले चार मन्त्रालयका सचिव र दुई मन्त्रीको वैदेशिक भ्रमण स्वीकृत गरेको छ ।
खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयहरुका सचिवहरु विदेश भ्रमणमा जाने भएका छन् । यस्तै, कृषि तथा पशुपन्छी विकासमन्त्रीको भियतनाम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको फ्रान्स भ्रमण पनि स्वीकृत भएको छ ।
यतिखेर प्रधानमन्त्री केपी शर्मा ओली २१ जनाको टोलीसहित एक साताका लागि अस्तिदेखि स्पेन भ्रमणमा हुनुहुन्छ । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा यसअघि नै इटाली भ्रमणमा हुनुहुन्छ । उहाँ जर्मनी पनि पुग्ने बताइएको छ ।
सरकारले सार्वजनिक खरिद पुनरावलोकन समिति अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यमा पूर्वसहसचिव रोहितकुमार विसुराल र थानेश्वर गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा रामशरण पुडासैनी नियुक्त भएका छन् । सहकारी संस्थाहरुको कर्जा असुलीसम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा लगाउन कर्जा असुली न्यायाधीकरण गठन गरिएको छ ।
सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेतको अध्यक्षतामा बनाइएको उक्त न्यायाधीकरणमा वसन्तराज पुरी र गोविन्द शर्मा गैरे सदस्य छन् । बैठकले विदेशी विनिमय (नियमित तथा व्यवस्थित गर्ने) विधेयक तर्जुमा सिद्धान्त, सम्पत्ति व्यवस्थापन विधेयक तर्जुमा सिद्धान्त, राष्ट्रिय पर्यटन नीति, २०८२, नेपाल र भारतबीच हस्ताक्षर हुने आयुर्वेद र परम्परागत चिकित्सा प्रणाली क्षेत्रमा सहकार्य विषय समझदारीपत्र पनि स्वीकृत गरेको छ ।
यसैगरी, बाँकेको डुडुबा गाउँपालिका बस्ने अकुब अहमदको परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति, नेपाली सेनाका एक सहायक रथीलाई उपरथीमा बढुवा, खानेपानी र सरसफाई क्षेत्रको महत्त्वपूर्ण प्रगतिलाई दिगो प्रभावमा रुपान्तरण गर्न ‘प्रधानमन्त्रीको प्रतिबद्धताः पानी, सरसफाई र स्वच्छतामार्फत राष्ट्रिय रुपान्तरण’ मा नेपालको तर्फबाट हस्ताक्षर गर्न स्वीकृति दिइएको जानकारी दिइएको छ ।