नेपालमा लगानी गर्न डेनिसहरुलाई आग्रह

नेपालमा लगानी गर्न डेनिसहरुलाई आग्रह

एमाले सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस कम्पनी तथा व्यवसायीहरुलाई नेपालमा लगानी र भ्रमणका लागि आग्रह गरेका छन् । लगानीको हिसाबले नेपाल उर्बर र भ्रमणको निम्ति सुन्दर देश भएको भन्दै भट्टराईले द्विपक्षीय सहकार्यले दुई मुलुक बीचको सम्बन्ध थप सुदृढ हुने बताए । 

डेनमार्कस्थित नेपाली राजदूतावासले आयोजना गरेको ‘नेपाल व्यापार प्रवद्र्धन’ कार्यक्रममा भट्टराईले स्थानीय व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आमन्त्रण गर्दै नेपाली आतिथ्यताको अनुभूति लिन पनि अनुरोध गरे । उनले नेपालले डेनमार्कसँग केवल व्यापारिक होइन, मित्रतापूर्ण सम्बन्ध कायम गर्न चाहेको बताए । 

डेनमार्कमा रहेका व्यवसायिक अगुवा, नीति निर्माणमा संलग्न व्यक्तित्व र डेनमार्कका अधिकारीहरु उपस्थित रहेको कार्यक्रममा भट्टराईले नेपाल लगानीमैत्री वातावरण बनाउनेतर्फ प्रतिबद्ध रहेको बताए । भट्टराईले भने, ‘बलियो नीतिगत संरचना, पूर्वाधार सुधार, र स्वच्छ ऊर्जा, पर्यटन, कृषि, डिजिटल नवप्रवर्तन र उत्पादनजस्ता क्षेत्रलाई प्राथमिकता दिइरहेका छौं ।’ 

नेपालले स्वच्छ ऊर्जा, पर्यटन, कृषि, डिजिटल नवप्रवर्तन र उत्पादन क्षेत्रमा प्राथमिकता दिँदै आएको जानकारी दिँदै दिगो पर्यटन, सांस्कृतिक आदानप्रदान र हवाई सम्पर्क विस्तारमा डेनमार्कसँग सहकार्यको सम्भावना रहेको बताए । 

‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्तिमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको उनको भनाई छ ।  भट्टराईले नेपाल दीर्घकालीन दृष्टिकोण र आपसी लाभको भावना सहित साझेदारीका लागि खुला रहेको बताए । भने, ‘हामी डेनमार्कका कम्पनीहरू र संस्थाहरू नेपालमा अवसर खोज्दै गरेको हेर्न चाहन्छौं, केवल बजारको रूपमा होइन, सम्भावनाहरूले भरिएको एक मित्र राष्ट्रको रूपमा ।’ 

भट्टराईले डेनमार्कले व्यापार वृद्धिमा र द्विपक्षीय सम्बन्ध सुदृढ पार्न गरेको योगदान बारेमा उल्लेख गर्दै नेपालले नवीनता, दिगोपनको अभ्यास, र व्यवसायिक मूल्यहरु खोजिरहेको बताए । 

डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले त्यहाँको नेपाली समुदायलाई राष्ट्र निर्माणमा योगदानका लागि आग्रह गरेकी छन् । दुई मुलुकबीच सन् १९६७ देखि कूटनीतिक सम्बन्ध कायम रहेको उल्लेख गर्दै डेनमार्कले नेपालमा विभिन्न विकास सम्बन्धी परियोजनाहरूमा सहयोग गरेको विवरण दिइएको छ ।

टिप्पणीहरू