विदेश घुमिरहने माननीयद्वारा आज धर्मको कुरा
नेकपा एमालेका सांसद तथा परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेपालले धार्मिक पर्यटनलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
होलिवाइन उपनामले प्रख्यात उनले आज संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा त्यस्तो कुरा गरेका हुन् । विमानस्थलबाट बौद्ध धर्मावलम्वी पर्यटकहरुलाई छुट्टै काउण्टर निर्माण गरी फास्ट ट्रयाकमा आउन दिनुपर्ने धारणा ढकालले राखे ।
चीन र भारतको सम्बन्ध नेपालमा विशेष रहेको र धार्मिक आस्थाका हिसावले आउने गरेको ढकालले बताए । धार्मिक पर्यटक धेरै अनुशासित हुने भएकाले पर्यटन बोर्डले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
‘हाम्रो भगवान गौतम बुद्ध जन्मेको देश नेपाल, हामी जहिले पनि भन्छौँ । सगरमाथा भएको देश नेपाल । एयरपोर्टमा एउटा काउण्टरबाट फास्ट ट्रयाकमा आउन दिनलाई के हुन्छ ? सबै बौद्धमार्गी देशमा फास्ट ट्रयाकमा आउन दिन्छन् । उनीहरुलाई सम्मानको रुमपा दिएको हुन्छ’, परिवार दलवाला एमाले सांसदले भने, ‘मैले बोले पनि त्यो हुन सकेको छैन । एयरपोर्टबाट नै पर्यटकमैत्री वातावरण सिर्जना गर्नुपर्छ । देशमा पर्यटनमैत्री वातावरणको निर्माण गर्नुपर्छ । नेपालको सन्दर्भमा हामीले धार्मिक पर्यटकलाई नै प्राथमिकता दिनुपर्छ ।’
धार्मिक पर्यटनबारे आज समितिमा चर्को कुरा गरेका ढकाल संसदीय गतिविधिमा खासै सक्रिय रहेको पाइंदैन । उनी नेपालमा भन्दा बढी विदेशमा विदेश रहने गरेका छन् । फिलिपिन्स ससुराली मुलुक भएका उनी हङकङ, मलेसिया, कोरिया, अष्ट्रेलिया, भारत, फिलिपिन्स नियमित जाउआउ गर्छन् ।
सँधैजसो विदेशमा हुने भएकाले एमालेकै नेता तथा कार्यकर्ताले ढकाललाई ‘घुमुवा माननीय’ को दर्जा दिएको पाइन्छ । उनीहरुले अनौपचारिक कुराकानीमा उनको नाम उच्चारण नगरी ‘घुमुवा माननीय’ भन्ने गरेका हुन् ।
टिप्पणीहरू