आलमलाई चोख्याउने फैसलाविरुद्ध सर्वोच्च जाने तयारी
रौतहट नरसंहारका अभियुक्त नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत जाने भएको छ । कार्यालयले सर्वोच्चमा पुनरावेदन गर्ने तयारी थालेको हो ।
त्यसका लागि उच्च सरकारी वकिल कार्यालय, वीरगञ्जले मस्यौदा तयार गर्दैछ । यसै साताभित्र मस्यौदा तयार गरेर महान्यायाधिवक्ताको कार्यालय पठाउने कार्यालयका प्रवक्ता उपन्यायाधिवक्ता ऋषिकेशव बस्यालले बताए ।
जनआस्थासँग उनले भने, ‘हामीले मस्यौदा बनाउँदै छौं । आज–भोलिमा त्यो पूर्ण रुपमा तयार हुनेछ । यसै साताभित्र महान्यायाधिवक्ताको कार्यालय पठाउँछौं ।’ अर्को साताभित्र सर्वोच्चमा पुनरावेदन दर्ता गरिसक्ने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीशद्धय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले गत जेठ १४ गते उनलाई सफाइ दिएको थियो । त्यसअघि रौतहट जिल्ला अदालतले इँट्टाभट्टामा ज्युँदै मान्छे जलाएको अभियोगमा उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय तोकेको थियो ।
उनलाई सफाइ दिने न्यायाधीशद्धयलाई न्याय परिषद्मा तानेर छानबिन अगाडि बढाइएको छ ।
टिप्पणीहरू