विनोद चौधरीलाई काँग्रेस नेताको सोधनी- ‘पैसा नै योग्यता हो ?’
डलर अर्बपतिका नाममा आफ्नो काम तमाम गर्दै आएका विवादास्पद व्यवसायी तथा काँग्रेस सांसद विनोद चौधरीलाई पार्टी नेताहरुले मुखभरिको जवाफ दिएका छन् । काँग्रेस नेता गुरूराज घिमिरेले चौधरीलाई पैसाको आडमा पार्टीभित्र चलखेल नगर्न चेतावनी दिदै सामाजिक सञ्जालमा लेखेर चौधरीसँग आठ बुँदाको जवाफ मागेका छन् ।
पहिले एमाले सांसद रहेका चौधरी पछिल्लो आमनिर्वाचनपछि काँग्रेस सांसद बनेका हुन् । पैसाको आडमा पार्टीका संस्थापन पक्षका केही नेतासँगको आडमा आफ्नो स्वार्थ पूरा गर्दै आएका चौधरीले नेता डा. शेखर कोइरालामाथि अनर्गल आरोप लगाएपछि घिमिरे चौधरीमाथि खनिएका हुन् ।
अस्तिदेखि जारी पार्टी केन्द्रीय समिति बैठकमा चौधरीले कोइरालामाथि औंला ठड्याउँदै बेतुकको आरोप लगाएको घिमिरेलगायतको भनाइ छ । कोइरालाले चौधरीको राजनीतिक हैसियत र पार्टी केन्द्रीय सदस्यको वैधानिकतामाथि प्रश्न उठाएपछि डलर अर्बपति उनीमाथि खनिएका थिए । डा. कोइरालाले झै गुरूले चौधरीलाई सोधेका छन्, ‘केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? त्यो हेरियो ? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ?’
कोइरालाले विनोद चौधरीजस्तो मान्छेलाई चार वर्षअगाडि नीति नियम मिचेर केन्द्रीय समितिमा ल्याउनु नै गलत निर्णय भएको पार्टी बैठकमै उल्लेख गरेका हुन् । यता घिमिरेले चौधरीलाई निकै ठूलो चेतावनी दिँदै लेखेका छन्, ‘नेपाली कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनका निम्ति संस्था भइसकेको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै प्रतिष्ठित परिवारको सदस्य तथा १४ औँ महाधिवेशनको सभापति पदको निकटतम् प्रतिस्पर्धी पार्टी नेतामाथि प्रश्न उठाउँदा चौधरीजीले निकै होसियारी अपनाउनुपथ्र्यो । यसमा उहाँ पूर्ण रुपमा चुक्नु भएकोमा निकै दुःख लागेको छ । त्यसैले पार्टीको एउटा सदस्यको नाताले सर्वप्रथम उहाँप्रति खेद प्रकट गर्दछु !’
उनले चौधरीलाई सोधेका छन्, ‘के तपाईं पार्टीको विधि, प्रक्रिया र मापदण्ड पु¥याएर केन्द्रीय सदस्य बन्नुभएको हो त ? सबभन्दा पहिले आफैँलाई प्रश्न गर्नोस् ।’
गुरूले चौधरीलाई सम्झाएका छन्, ‘तपाईं एमालेको समानुपातिक कोटाबाट संविधानसभाको सदस्य हुँदा डा. कोइराला कांग्रेसबाट जननिर्वाचित संविधानसभा सदस्य हुन् ।’
कोइरालाको राजनीतिक व्यवस्थापन नै नगरी उहाँको निर्वाचन क्षेत्रमा चौधरी चुनाव लड्न जाँदा उहाँको मर्ममा कति प्रहार भयो होला ! भन्दै लेखिएको छ, ‘उहाँको राजनीतिक लगानी र त्यागको कति उपहास र अवमूल्यन भयो होला ! अनुमान गर्नुभएको छ ?’
धनको फुर्ति नलगाउन सल्लाह दिँदै गुरूले भनेका छन्, ‘चौधरी जी, आमोद–प्रमोद, ऐश्वर्यसहितको धनकुवेरको मात्र इतिहास लेखिँदैन, संघर्ष, योगदान, त्याग र निष्ठाले भरिपूर्ण सुदामाहरूको पनि लेखिन्छ भन्ने थाहा छ कि छैन ?’ अगाडि लेखिएको छ, ‘राजनीतिक दलहरूले उद्योगी व्यवसायीहरूसँग चन्दा माग्नु अनौठो कुरा होइन । तर चन्दा दिने व्यक्तिले चन्दा दिँदा नेता बनाउनु पर्ने शर्त राख्तैन । संसारभरि राजनीतिक दललाई चन्दा दिनेहरू सबै नेता बन्दैनन् । अपवादको कुरा फरक हो । तपाईंले कुन दलका, कसलाई, कहिले, कति चन्दा दिनुभएको छ, सार्वजनिक गर्नोस्, अनि बहस गरौँला । एउटा कुरा प्रष्ट हो, चन्दा लिएवापत तपाईंलाई नेता मान्न कोही बाध्य छैन ।’
राज् होदा वा सरकारी पदमा बसेर अधिकारको दुरुपयोग गरिएको घिमिरेको आरोप छ । उनले सातौं बुँदामा लेखेका छन्, ‘राज्यको ओहोदा वा सरकारी पदमा बसेर आफ्नो व्यवसायलाई फाइदा पुग्ने काम गर्न पाइन्छ ? सम्बन्धित क्षेत्रमा विज्ञता भएको भनिएको व्यक्ति सम्बन्धित क्षेत्रकै मन्त्री भएर आफ्नो व्यवसायलाई संरक्षण र प्रवद्र्धन गर्न मिल्छ ? यो ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ भएन र ? विज्ञता र अधिकारलाई सदुपयोग गरेको भए यस्तो प्रश्न उठ्थ्यो र ? विज्ञमन्त्री हुनु नराम्रो कसले भनेको छ ?’
आज क्रियाशील र भोलिपल्ट केन्द्रीय सदस्य बनेकाले सांसद पदसमेत हत्याएकोतर्फ ध्यान दिन भनिएको छ । लेखिएको छ, ‘क्रियाशीलसमेत नभइ सांसद बन्नु भएको छ । पार्टीका पुराना साथीहरूलाई अपमान गर्नुभएको छ ।’
Write to Editor & Uttam
टिप्पणीहरू