समाजवादीको हाइकमाण्डमा अध्यक्षको मुद्दाबारे सल्लाह, झाँक्रीलाई स्पष्टीकरण
नेकपा एकीकृत समाजवादीको शीर्ष बैठकमा अध्यक्ष माधवकुमार नेपालमाथिको भ्रष्टाचार मुद्दाबारे छलफल भएको छ ।
पार्टी मुख्यालय आलोकनगरमा आज बसेको सचिवालय बैठकमा नेताहरूले अध्यक्षविरुद्धको मुद्दा र त्यससँग जोडिएका कानुनी पक्षबारे चर्चा गरेका हुन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष जगन्नाथ खतिवडाले समसामयिक राजनीति परिस्थितिको विश्लेषणसहित उक्त मुद्दाका बिषयमा छलफल भएको बताए ।
असार १३ गतेदेखि सचिवालय बैठक जारी रहेको र आज छोटो समय बसेर स्थगित गरेको उनले जानकारी दिए । सचिवालयका केही सदस्यहरु विरामी परेकाले बैठक लामो समय बस्ने नसकेको खतिवडाको भनाइ छ ।
‘हाम्रो गत १३ गतेदेखि बसेको केन्द्रिय सचिवालयको बैठक आज छोटो समय मात्रै बसेर स्थगित गर्यौँ । सचिवालय सदस्यहरुको स्वास्थ्य समस्या आएका कारणले अरु समय बस्नसक्ने अनुकूलता भएन’, उनले भने, ‘समसामयिक राजनीति परिस्थितिको विश्लेषण, पार्टी अध्यक्षमाथि अख्तियारले लगाएको मुद्दा र त्यो मुद्दासँग जोडिएका विभिन्न कानूनी पक्षहरुको चर्चा, विश्लेषण, पार्टीको आगामी कार्ययोजनाका बारेमा छलफल भयो ।’
सचिवालयको अर्को बैठक असार २२ गते बस्ने खतिवडाले जानकारी दिए ।
त्यस्तै, पार्टीको अनुशासन आयोगले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको उनले बताए । यसअघि आजै पार्टी कार्यालयमा पुगेर झाँक्रीले आफूलाई स्पष्टीकरण सोधेको विषय हल्लामात्र भएको जिकिर गरेकी थिइन् ।
उपाध्यक्ष खतिवडाले भने झाँक्रीको अभिव्यक्तिबारे अनुशासन आयोगले निश्चित समय तोकेर स्पष्टीकरण सोधेकाले समयभित्रै स्पष्टीकरण आउने विश्वास रहेको बताए ।
टिप्पणीहरू