‘संसदमा खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने काम भइरहेको छ’
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने’ कथन अहिले नेपालको संसदमा लागू हुँदै गएको टिप्पणी गर्नुभएको छ ।
आज राजधानीमा आयोजित ‘समाजवादी दर्शनको रुपरेखा’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनुभएको हो । निजामती सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको छेडखानी सामान्य गल्ती नभएर ठूलो अपराधिक षड्यन्त्र रहेको प्रचण्डको भनाइ छ ।
‘अहिले समितिका प्रतिवेदनमाथि जुन छेडखानी भइरहेका छन्, यो त्यति सामान्य होइन’, उहाँले भन्नुभयो, ‘बाहिर देखाउँदा खसीको टाउको देखाउने, अनि भित्राभित्रै कुकुरको मासु बेचिरहेका छन् ।’
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले पछिल्लो समय ‘समाजवाद’ भन्ने शब्द निकै सस्तो हुँदै गएकोमा असन्तुष्टि जनाउनुभयो । सामन्त र दलालहरुले समेत समाजवादको ढोङ फुकिरहेको भन्दै त्यसप्रति विमत्ति राख्नुभयो ।
‘अहिले त राजनीतिक स्वार्थ पूरा गर्नको लागि सामान्त र दलालहरुले समेत समाजवादलाई फेसन बनाएका छन्, नाम चाहिँ सबैले समाजवादी राख्ने तर समाजवादको आधाभूत सिद्धान्त र मान्यताभन्दा बाहिर गएर व्यक्तिवादी आचरण देखाउने प्रवृति हावी छ’, प्रचण्डले थप्नुभयो ।
टिप्पणीहरू