वर्षौंदेखि बिजोग सदरमुकामको चार किलोमीटर मुख्य सडकखण्ड

वर्षौंदेखि बिजोग सदरमुकामको चार किलोमीटर मुख्य सडकखण्ड

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा पर्ने धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिक लागि नयाँ ठेक्का आह्वान प्रक्रिया थालिएको छ । सडक डिभिजन कार्यालय, भक्तपुरले स्रोत सुनिश्चितताका लागि लागत निकालेर सडक विभाग पठाएको छ । 

असार मसान्तभित्र ठेक्काको सार्वजनिक सूचना निकाल्ने डिभिजन प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताए । भदौ मसान्तसम्म सडक निर्माणका लागि सम्झौता भइसक्ने उनले जानकारी दिए । आगामी वर्षमा सो सडकको स्तरोन्नति सम्पन्न गरिसक्ने उनको दावी छ । 

जनआस्थासँगको कुराकानीमा भने,‘स्रोतका लागि स्टिमेट तयार पारेर सडक विभागमा पेश गरेका छौं । यही महिनाभित्र ठेक्काका लागि सार्वजनिक सूचना निकाल्छौं । भदौसम्म ठेक्का सम्झौता गरेर काम थालिन्छ । अर्को वर्षदेखि त्यहाँ सहज रुपमा गाडी चल्छ ।’

तीन वर्षसम्म पनि किन बनेन सडक ? 

जिल्ला सदरमुकाम धुलिखेलदेखि खावासम्मको चार किलोमिटर सडक विस्तारका लागि कार्यालयले गौरी पार्वती निर्माण सेवा प्रालिसँग २०७९ जेठ २० गते सम्झौता गरेको थियो । २०८० चैत १९ गते निर्माण सम्पन्न गरिसक्नेगरी २० करोड १९ लाख ४६ हजार पाँच सय एक रुपैयाँमा सम्झौता भएकोमा २० प्रतिशत पनि काम भएको छैन । 

ठेकेदार कम्पनीले शुरुवातदेखि नै निर्माणमा आलटाल गर्दै आएको थियो । निर्माण सम्पन्न नहुँदा यात्रुले निकै सास्ती खेप्नुपरेको छ । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा सो सडकबाट यात्रा गर्न निकै कष्टकर छ । सो सडकखण्ड विस्तारमा भएको ढिलाइको विरोधमा जिल्ला समन्वय समिति, काभ्रेका प्रमुख दिपककुमार गौतम आमरण अनशनसमेत बसेका थिए । 

यता, संसद्को पूर्वाधार विकास समितिले समेत सो सडकखण्डको अनुगमन गरेको थियो । निर्माणमा स्तरोन्नति नभएपछि कार्यालयले पटकपटक ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोध्यो । तर, ठेकेदार कम्पनीले सन्तोषजनक जवाफ नदिएपछि कार्यालयले गत फागुनमा ठेक्का रद्द गरेको हो ।

जसविरुद्ध ठेकेदार कम्पनी उच्च अदालत, पाटन पुगेका थियो । ठेक्का रद्द गर्ने निर्णय स्थगित गरिपाऊँ भन्दै ठेकेदार कम्पनीले मुद्दा दायर गरेकोमा उच्चले कार्यालयकै पक्षमा आदेश गरेको छ । उच्चको आदेशसँगै कार्यालयलाई सडक निर्माणका लागि नयाँ ठेक्का लगाउने बाटो खुलेको हो । 

कार्यालय प्रमुख योगेशका अनुसार ठेकेदार कम्पनीले २० प्रतिशतको मात्रै भुक्तानी पाउने छ । ‘अदालतको आदेशसँग कार्यालयले प्रक्रिया अगाडि बढाएको हो । जति काम सकाएको छ, त्यति मात्र भुक्तानी दिइन्छ’,उनले भने । 

धमाधम ग्राभेल हाल्दै कार्यालय

बर्खायाममा हिलोका कारण सर्वसाधारणलाई सास्ती हुने भएपछि कार्यालयले सडकमा ग्राभेल हाल्न थालेको छ । जसका कारण हिलाम्मे सडकबाट यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । आफ्नै ग्रेडर, लोडर, ट्याकंरको प्रयोग गरेर सडक स्तरोन्नति गरिरहेको प्रमुख योगेशले जानकारी दिए । 

‘पहिलेभन्दा अहिले सडक धेरै राम्रो भइसकेको छ । आफ्नै ग्रेडर, लोडरको प्रयोग गरेर सडकमा ग्राभेल बिच्छ्याइरहेका छौं । त्यहाँबाट चल्ने सवारी साधनलाई सहज भएको छ’,उनले भने ।

टिप्पणीहरू