उपेन्द्रपछि सरकार छोड्ने पालो उन्मुक्तिको
नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने भएकाे छ । उसले संघ र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हिजो उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि चिढिएको नाउपा अब सबैतिर प्रतिपक्षमा बस्ने मनसायमा पुगेको बताइएको छ । चौधरी जेठ ४ गते नाउपाबाट मन्त्री नियुक्त भएका थिए ।
बजेट निर्माणमा आफूखुशी गरेको र सरकारलाई असहयोग गरेको भन्दै नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले मन्त्री चौधरीलाई बर्खास्त गरेको बताइन्छ । नाउपाका संरक्षक रेशमलाल चौधरीले सरकारबाट बाहिरिने तयारी गरेको बताए ।
उनले समाजिक सञ्जालबाटै आक्रोश पोख्दै भनेका छन्, ‘अब हामी प्रतिपक्षमा बस्छौँ, जेलबाट हुण्डी खाने सर्वहाराहरु सामाजिक संजालमा कराउँदैछन् ।’ अध्यक्ष रञ्जिता श्रेष्ठले समेत प्रतिपक्षमा बस्नगेरी मानसिकता तयार गर्न भन्दै पार्टीका सांसदहरुलाई आन्तरिक निर्देशन दिएको बुझिएको छ ।
यसअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको बैठकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको थियो । यद्यपि, संसदीय दलले अहिलेसम्म औपचारिक निर्णय भने गरिसकेको छैन ।
टिप्पणीहरू