अखिल अध्यक्षलाई ४२ लाखको बाइक
नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुका नवनिर्वाचित अध्यक्ष डा. सुजन कडरिया रु. ४२ लाखको त बाइक चढ्छन् । त्यो कुरा उनी आफैँले भनेका हुन् । उनले चढ्ने बाइक Ducati Scrambler Cafe Racer हो बा ९१ प ८८८८ नं को बाइक चढ्छन् । अहिले बजारमा यो बाइक सहजै पाइन्न ।
इलेक्ट्रिकल गाडी (बा ३० च ५५९०) आफैले हाँक्ने सुजन एकाएक डुकाटी बाइकमा अखिल कार्यालय (रातोघर भृकुटीमण्डप) आएपछि एक कार्यकर्ताले सोधे, ‘अध्यक्षज्यू पनि बाइकमा ? गाडी खै त ? ‘मेरो भाइ सुशील इञ्जिनियर हो । हाम्रो कम्पनीको म्यानेजरसमेत हो । मैले अनेरास्ववियुको अध्यक्षमा जितेपछि भाइले बाइक गिफ्ट दिएको हो ।’ कमल कडरिया ‘क’ वर्गका ठेकेदार हुन् । उनका ३ छोरामध्ये जेठो सुजन डाक्टर हुन्, माइलो सुशील इञ्जिनियर छन्, जसले बाबुको कम्पनीको रेखदेख गर्छन् । कान्छो अध्ययनको सिलसिलामा अमेरिकामा छन् ।
अखिलका एक पूर्वपदाधिकारी भन्छन् ‘कोटेश्वरमा १४ आनामा बनेको भब्य बंगला, शान्तिनगरमा १३ आनामा बनेको घर, सनसिटी पेप्सीकोलामा १४ आनामा बनेको घर, दर्जन ठाउँमा घडेरी, ३ वटा गाडी, बाइक आदि भएको ‘क’ वर्गको ठेकेदारको समाजसेवी डाक्टर छोराले ४२ लाखको बाइक चढ्नु कुन नौलो भयो र ? थोरै हामीजस्ता कोठा भाडा कसरी तिर्नुपर्ने भनेर तनाव लिनुपर्ने वर्गका मान्छे हुन् र ?
कमल कडरियाले २ वटा कम्पनी छोराको नाममा खोलेका छन् । सुजनका नाममा श्यामसुन्दर निर्माण सेवा र सुशीलको नाममा पशुपति शिवाजी कन्स्ट्रक्सन । सिंहदरबारमा निर्माणाधिन संसद भवनको इन्टेरियर ठेक्का श्यामसुन्दरलाई परेको छ । सो कम्पनीले काम गरिरहेको छ ।
एमालेको पूर्व कार्यालय रहेको स्थान बल्खु या काठमाडौँको कतै जग्गा किनेर भए पनि अखिलको कार्यालय बनाउँछु भन्ने गरेका कडरियाले आफू निकटलाई मोबाइलमा ३ तले भवनको डिजाइनसमेत देखाउने गरेका छन् । उनका अनुसार पहिलो तलामा कफीसप हुनेछ । दोस्रोमा अखिलको अफिस र तेस्रोमा गेस्ट हाउस या अतिथि गृह राखिनेछ । जसमा भ्याली बाहिरबाट आउनेहरुका लागि बसोबासको व्यवस्था गरिनेछ र एक रातको रु. १०० लिइनेछ । (रु. १०० चाहिँ सरसफाइको लागि हो । यसअघि (२०७० साल आसपास) दीपक गौतमले (एस पार्टीका नेता तथा काभ्रे जिल्ला समन्वय समितिका सभापति) पनि अखिल कार्यालय बनाउने घोषणा गरेका थिए ।
जनप्रतिनिधिमा हार, अखिलमा जित
गत स्थानीय निर्वाचन (२०७९) मा सर्लाहीको मलंगवा नगरपालिका सर्लाहीमा एमालेले २७ वर्षीय समिम खानलाई उठायो । उनले गत निर्वाचन (२०७४) को भन्दा मत बढाए, स्थान पनि सुधारे । २०७४ मा शान्दार चौथो मात्र भएनन् १२३४ मत ल्याएको ठाउँमा पार्टी फुट्दासमेत २११५ मत पाउन सफल भए । एमालेबाट फुटेको समाजवादीले १४१७ मत ल्याएको थियो । जित्ने नेपाली कांग्रेसले ९०७८ मत प्राप्त गर्यो । त्यसरी पछि परेका समिमले अखिलको पदाधिकारी (सचिव) भने जित्न सफल भए । ४ खुल्ला सचिवको लागि ३६ जना भिडेका थिए । समिम २७३ सहित तेश्रो स्थानमा जित्न सफल भए । अहिले उनलाई प्रचार विभागको जिम्मेवारी दिइएको छ ।
अर्का सचिव गोपाल नेपाल पनि गत स्थानीय निर्वाचन (२०७९) मा ओखलढुंगा जिल्ला मोलुङ गाउँपालिका–५ को वडाध्यक्षमा कांग्रेसका गोपीकृष्ण कार्कीसँग १४ मतले पराजित भएका हुन् । कार्कीले ३८४ ल्याउँदा नेपालले ३७० मत पाएका थिए ।
नेपाल उम्मेदवार हुनुअघि सोही पालिकामा सूचना प्रविधि अधिकारी थिए । त्योभन्दा अघि ओखढुंगाका सांसद यज्ञराज सुनुवारको स्वकीय सचिव रहे । मोलुङ पालिकामा एमालेको वर्चश्व रहेको छ । नेपाल दशबुँदेसमूहका हुन् । दशबुँदेका एक जना नेता भन्दै थिए ‘अखिलमा बिउ जोगाउन सफल भयौँ है !’
टिप्पणीहरू