संसद भवनमा शंकास्पद ड्रोन
तस्बिरमा सांकेतिक ड्रोन
काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको छतमा शंकास्पद ड्रोन भेटिएको छ । तारमा अल्झिएको अवस्थामा आज बिहान साढे ९ बजे ड्रोन फेला परेको हो ।
गएराति परिसरभित्र भवनको मुख्य प्रवेशद्वारमा ड्रोन क्यामेरा खसेको भन्दै संसदका कर्मचारीले त्यहाँ खटिएका सुरक्षाकर्मीलाई जानकारी गराएका थिए ।
राति नभेटिएपछि आज बिहान महानगरीय प्रहरी वृत्त, तीनकुनेले पुनः खोजतलास गरेको थियोे । सो क्रममा भवनको छतमा रहेको तारमा अल्झिएको अवस्थामा ड्रोन पाइएपछि प्रहरीले वरपरका घरधनी र व्यवसायीलाई सोधपुछ गरे ।तर, कसैले घरबाट ड्रोन नउडाएको बताएपछि वृत्तले अनुसन्धानका लागि ड्रोन राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, सामाखुशी पठाउने तयारी थालेको छ ।
यता, संसदका प्रवक्ता सहसचिव एकराम गिरीले ड्रोनबारे कुनै जानकारी नभएको बताए । जनआस्थासँग उनले भने,‘ड्रोनको विषयमा कुनै जानकारी पाएको छैन । तैपनि म बुझ्छु ।’
टिप्पणीहरू