सोबिता गौतमको अभिव्यक्ति निन्दनीय : योगेशकुमार
नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरू नफर्किएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमको अभिव्यक्तिलाई निन्दनीय भनी टिप्पणी गरेका छन् ।
आज संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे गौतमले दिएको अभिव्यक्ति भत्र्सनायोग्य रहेको बताए । भ्रमण दलमा रहेका २८ जना नै स्वदेश फर्किसकेको पुष्टि भैसकेको उल्लेख गर्दै भट्टराईले प्रधानमन्त्रीलाई लाञ्छित गर्नेगरी नबोल्न चेतावनी दिए ।
‘प्रधानमन्त्रीको भ्रमण दलमा जम्मा २८ जना गएका रैछन् । त्यो नामावली प्रधानमन्त्रीको कार्यालयले समेत सार्वजनिक गरिसकेको छ । तीमध्ये को–को फर्किएनन् ? त्यो कुरा उठाउने माननीयज्यूहरुले भन्नुपर्यो’, उनले भने, ‘ती सबैजना प्रधानमन्त्रीसँगै स्वदेश फर्किएको प्रधानमन्त्रीको कार्यालयले स्पष्ट पारिसक्यो । यस्तो अफवाहको कुरा फैल्याउने र प्रधानमन्त्री कार्यालयलाई लाञ्छित गर्ने कुरा निन्दनीय छ । यो भत्र्सनायोग्य छ ।’
प्रधानमन्त्री तथा आफ्ना अध्यक्षमाथि आरोप लगाउने रास्वपालाई सांसद भट्टराईले आफ्नो आङको भैंसी नदेख्ने अरुको आङमा जुम्रा खोज्दै हिड्ने प्रवृत्तिका रुपमा अर्थ्याए । रास्वपाका सभापति ठगी काण्डमा जेल परेको तथा अन्य नेताहरूले मेनपावरमार्फत दलाली गरिरहेको भन्दै उनले त्यसको जवाफ दिनुको सट्टा प्रधानमन्त्रीमाथि आरोप लगाएर विषयान्तर गरिएको बताए ।
‘आफ्नो आङको भैंसी नदेख्ने अरुको आङमा जुम्रा खोज्दै हिड्ने प्रवृत्ति कतिपय मान्छेमा देखिन्छ । आफ्नै दलका नेताहरु ठगी काण्डमा छन्, जेलमा छन् । आफ्नै दलका नेताहरु मेनपावर चलाउँछन् र ठगी गर्दै विदेश पठाइरहेका छन् । दलाली गरिरहेका छन् । ती प्रश्नहरुको जवाफ दिनुको सट्टा प्रधानमन्त्रीजस्तो संस्थालाई लाञ्छित गर्ने जुन काम उहाँहरु गर्नुभयो यो भत्र्सनायोग्य छ’, भट्टराईले भने ।
प्रधानमन्त्रीको भ्रमण दलमा रहेको कुन सदस्य नफर्किएको आरोप प्रमाणित गर्न उनले चुनौतीसमेत दिएका छन् ।
टिप्पणीहरू