पत्रकारको क्यामेरा खोसिएकोप्रति महासंघको आपत्ति
एचटिपी खबरका पत्रकार दिवाकर साहमाथि भएको दुर्व्यवहारप्रति पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ । नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले रिपोर्टिङमा गएका साहमाथि दुर्व्यवहार भएको जनाउँदै घटनाको निन्दा र भर्त्सना गरेको हो ।
महासंघले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग पनि गरेको छ । पूर्वाधार विकास कार्यालयमा अनुचित गतिविधि भइरहेको जानकारीपश्चात् गत असार २३ गते राति रिपोर्टिङ्गका लागि त्यहाँ पुगेका साहलाई धकेल्दै केही व्यक्तिले क्यामेरा खोसेका थिए । त्यसको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।
महासंघ मधेश समितिले आज विज्ञप्ति जारी गर्दै पत्रकारलाई धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको खुला हस्तक्षेप भएको बताएको छ । उक्त घटनाको घोर भर्त्सना गर्दै समितिले प्रेस स्वतन्त्रताविरोधी गतिविधि पूर्णतः अस्वीकार्य रहेको स्पष्ट पारेको छ ।
‘समाचार संकलनको क्रममा पत्रकारलाई यसरी अवरोध गर्न खोज्नु र धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको खुला हस्तक्षेप हो । यस घटनाको महासंघ मधेश प्रदेश समिति घोर भर्त्सना गर्दछ’,विज्ञप्तिमा भनिएको छ,‘साथै, पत्रकार साहमाथि दुर्व्यवहार घटनामा संलग्नहरुलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग हाम्रो जोडदार माग छ । प्रेस स्वतन्त्रताविरोधी गतिविधि महासंघलाई पूर्णतः अस्वीकार्य छ ।’
टिप्पणीहरू