पहिले बालकोट धाउनेहरुले नै अहिले भण्डारीलाई उचाले : एमाले महासचिव
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएपछि पार्टीभित्र सुरु भएको कित्ताकाट समाजिक सञ्जालदेखि सभा–समारोहमा देखिन थालेको छ । वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलदेखि कर्ण थापासम्मका नेताहरु भण्डारीको पक्षमा खुल्दा महासचिव शंकर पोखरेलले भने ‘नेतृत्वको बहस आवश्यक नै नरहेको’ बताउँदै आएका छन् ।
आगामी महिधिवेशनबाट प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले नै तेस्रो कार्यकालको नेतृत्व लिने महासचिवको दाबी छ । पोखरेलले नेतृत्वको बहस नगर्न र नगराउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । जनवर्गीय संगठनका इञ्चार्ज र पदाधिकारीहरुलाई च्यासलस्थित पार्टी कार्यालयमा आयोजित भेलामा सम्बोधन गर्दै कसैले नेतृत्वको बहस गरेमा र भण्डारी अनुकूलको धारणा दिएमा उनीहरुलाई तत्काल अनुशासनको कारबाही गर्न घुमाउरो संकेत गरेका हुन् ।
‘विधान महाधिवेशनले अन्तिम रूप दिएका कतिपय (उमेर हदसम्बन्धी) प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्दछ’, उनले भने, ‘भदौमा विधान महाधिवेशन हो, राष्ट्रिय महाधिवेशन होइन । त्यसैले अहिले कुनै नेताका नाममा कित्ताकाट हुनु जरुरी छैन, नीति र नेतृत्व निर्माणको भिन्नता सबैले थाहा पाउन् ।’
विगतमा मन्त्री बनाइदिनु पर्यो भन्दै बालकोट धाउनेहरुले नै अहिले भण्डारीलाई उचालेको पोखरेलको दाबी छ । ‘कुनै बेला सरकारमा लगिदिनु प¥यो भनेर रातदिन बालकोट धाउनेहरू नै अहिले लोकप्रियताका नाममा नेतृत्वलाई गाली गर्ने अग्रपङ्क्तिमा रहेका छन्’, भण्डारी निकटका नेताहरुलाई लक्षित गर्दै उनले थपे, ‘दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधानहरू आफैँ अनुमोदन गर्ने अनि अहिले आफैँ प्रश्न गर्दै हिँड्ने कुरा अनैतिक हो, क्षम्य हुँदैन ।’
टिप्पणीहरू