विमानस्थलका कर्मचारीले अनावश्यक प्रश्न सोध्न नपाउने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरुले अब विदेश उड्ने र नेपाल आउने यात्रुलाई राम्रो बोलीवचन र व्यवहार गर्नुपर्ने भएको छ । यात्रुलाई शिष्ट र सम्मानपूर्वक व्यवहार गर्न त्रिवि अध्यागमन कार्यालयले कर्मचारीका लागि नैतिक संहिता लागू गरेको हो ।
जसअनुसार अब एयरपोर्टमा कार्यरत कर्मचारीहरुले नेपालबाट विभिन्न देश प्रस्थान गर्ने यात्रुलाई कम्तीमा ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने छ । यस्तै, नेपालभित्र प्रवेश गर्नेलाई ‘वेलकम इन नेपाल’ भन्नुपर्छ ।
कार्यालयले यात्रुसँग थोरै र आवश्यक प्रश्न मात्र गर्न तथा खाडीलगायत मुलुकहरुमा श्रमका निम्ति प्रस्थान गर्ने यात्रुसँग सम्मानयुक्त शब्द बोल्न पनि निर्देशन दिएको छ । रुखो व्यवहार नगर्ने, बोली वचनमा मिठासपना दिने, पर्यटकहरुसँग बोलीवचन र हाउभाउले आत्मीयता प्रदान गर्नेजस्ता विषयसमेत संहितामा उल्लेख छ ।
संहिताअनुरुप व्यवहार देखिए–नदेखिएको व्यक्त गर्न १५ वटा डेस्कको समेत स्थापना गरिएको अध्यागमन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यात्रुले ती डेस्कमा गई कर्मचारीका व्यवहारको प्रतिक्रिया र गुनासो दर्ता गराउन सक्नेछन् ।
टिप्पणीहरू