९८ वर्ष पुगेछ चिनियाँ जनमुक्ति सेना स्थापनाको

९८ वर्ष पुगेछ चिनियाँ जनमुक्ति सेना स्थापनाको फोटो स्रोत : सुनिल शर्मा ।

प्रधानसेनापति अशोकराज सिग्देलले नेपाल–चीन सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ । चिनियाँ जनमुक्ति सेना स्थापनाको ९८औँ वार्षिकोत्सवका अवसरमा हिजो बेलुका काठमाडौंमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उहाँले पञ्चशीलका सिद्धान्तमा आधारित सम्बन्ध भएकाले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सम्बन्ध पनि उत्तिकै सुमधुर रहेको उल्लेख गर्नुभएको छ ।

सिग्देलले कोभिड १९ महामारी र एक दशकअघिको महाभूकम्पपछिको पुनर्निर्माणमा जनमुक्ति सेनाले गरेको सहयोग नेपाली सेनाले सदैव सम्झने बताउनुभयो । भन्नुभयो, ‘विपद् व्यवस्थापन र उद्धारमा जनमुक्ति सेनाका माध्यमबाट चीन सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गर्छौं । दुई मुलुकबीच संयुक्त सैन्यअभ्यासका साथै अन्य पारस्परिक हित र चासोका साझा विषयमा सँधै सहकार्य भइरहेको छ ।’

काठमाडौंस्थित चिनियाँ दूतावासका सैनिक सहचारी ल्यु चङजङ्ले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ले जनमुक्ति सेना प्रभुत्ववादविरुद्ध रहेको जानकारी दिनुभयो । शान्ति र विश्वका मानव जातिको साझा भविष्य निर्माण चिनियाँ जनमुक्ति सेनाको मूल मन्त्र रहेको बताउनुभयो । 

भन्नुभयो, ‘राष्ट्रपति सि चिनफिङको सबल नेतृत्वमा जनमुक्ति सेनाले विश्वशान्ति र विकासका लागि अन्तरर्राष्ट्रिय क्षेत्रमा पूर्ण प्रतिबद्धताका साथ काम गरिरहेको छ । असल छिमेकी राष्ट्र नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ तुल्याउन चीन क्रियाशील छ ।’

यो वर्ष चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना भइरहेको छ । सोही सन्दर्भ उल्लेख गर्दै राजदूत सोङले दुवै मुलुकका शीर्ष नेतृत्वको अगुवाइमा सहकार्य, साझेदारी र सहयोग आदानप्रदानका कार्यक्रम कार्यान्वयन भइरहेको बताउनुभयो । 

कार्यक्रमका पाहुनालाई स्वागत गर्दै सैनिक सहचारी ल्युले संयुक्त राष्ट्रसंघको आह्वानमा जनमुक्ति सेनाले विश्वका द्वन्द्वग्रस्त विभिन्न मुलुकमा दृढताकासाथ काम गरिरहेको उल्लेख गर्नुभयो । चिनियाँ सेनाले अन्तरर्राष्ट्रिय सुरक्षा र मानवीय सहयोगलाई सँधै प्राथमिकता दिएको उहाँको भनाई थियोे ।

 

टिप्पणीहरू