त्रिभुवन विश्वविद्यालयमा सँधै लफडा
त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा.डा.दिपक अर्यालले पदभार ग्रहण गरेसँगै लफडा शुरु भएको छ । उनले जिम्मेवारी सम्हालेलगत्तै विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा हंगामा मच्चाएका हुन् । आफूहरुसँग छलफल नगरी उनले पदभार ग्रहण गरेको भन्दै संगठनहरुले तोडफोड नै गरेका छन् ।
शुक्रबार नै उपकुलपतिको कुर्सी कार्यकक्ष बाहिर निकालिएको थियो भने ढोकाबाहिर झुण्ड्याइएको उपकुलपतिको नेमप्लेट झिकेर फ्याँकेपछि अवस्था तनावग्रस्त बनेको हो । यसअघिका उपकुलपति प्रा.डा. केशरजंग बरालले पनि विद्यार्थीहरुको आन्दोलन र प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको असहयोगका कारण राजीनामा दिनुपरेको थियो ।
के हो घटना ?
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले गत बुधबार अर्याललाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो । बालुुवाटारमा शपथ ग्रहणपछि सोही दिन बेलुकी ६ बजे कीर्तिपुरस्थित विश्वविद्यालय पुगेर उपकुलपतिले पदभार ग्रहण गरे । ७ बजेर १५ मीनेटमा विश्वविद्यालय पुगेका नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) त्रिवि समितिका विद्यार्थी नेताहरुले कार्यकक्षबाट सामान निकालेर बाहिर फ्याँक्न थालेका हुन् ।
नेमप्लेट पनि निकालियो । त्रिविका उपकुलपतिसहित पदाधिकारी तथा त्रिवि सेवा आयोगको अध्यक्षलाई कार्यकक्षमा प्रवेश निषेध गरिएकोमा आफूहरुलाई जानकारी नगराई पदभार ग्रहण गरेको भन्दै उनीहरुले विरोध जनाए । एकछिनमै आन्दोलनले उग्र रुप लियो ।
यस्तो छ विवाद
मुलुकको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिविमा शैक्षिक गतिविधिभन्दा धेरै राजनीति हुने गरेको छ । त्यहाँ सदाबहार तालाबन्दी भइरहन्छ । आन्दोलनका नाममा विद्यार्थी संगठनहरुले तालाबन्दी गरिरहन्छन् । तालाबन्दी, तोडफोड, आन्दोलन, धाकधम्कीलगायतका कारण उपकुलपति प्रा.डा. केशरजंग बरालले गत चैत २८ गते पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृतपछि रेक्टर खड्ग केसीलाई पदपूर्ति नभएसम्मका लागि उपकुलपतिको जिम्मेवारी दिइयो ।
क्रान्तिकारीले खुल्ला प्रतिस्पर्धामा प्राध्यापक, सह–प्राध्यापक, उप–प्राध्यापकको नियुक्ति हुनुपर्ने माग राखेर आन्दोलन गर्दै आएका थियो । तर, फास्टट्रयाकबाट प्राध्यापक, सह–प्राध्यापक र उप–प्राध्यापक पदपूर्तिको लागि विज्ञापन प्रकाशित गरेपछि तालाबन्दी गरेर विरोध जनाइएको हो । गत असार ३ गते सर्वोच्च अदालतमा तालाबन्दी खोल्नका लागि रिट निवेदन परेको थियो ।
अधिवक्ता महेश भट्टराईले त्रिविमा लगाइएको तालाबन्दीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । न्यायाधीश नृपध्वज निरौलाको इजलासले गैरकानुनी रुपमा लगाइएको तालाबन्दी खुलाइ काम सुचारु गर्न आदेश थियो । त्यसैगरी, शैक्षिक एवं प्रशासनिक सेवामा हड्ताल र तालाबन्दी नगर्न भनि अन्तरिम आदेश जारी गरेको हो ।
अदालतको आदेशको सम्मान गरेर तालाबन्दी खोल्ने तर आन्दोलन जारी राख्ने भन्दै क्रान्तिकारीले विज्ञप्ति जारी गर्यो । असार २२ गते ताला खोलेर कामकाज शुरु गरियो । तैपनि, त्रिविका उपकुलपतिसहित पदाधिकारी र त्रिवि सेवा आयोगका अध्यक्षलाई कार्यालय प्रवेशमा रोक लगाइयो । प्रा.डा. खड्ग केसीसहित त्रिविका पदाधिकारी र त्रिवि सेवा आयोगका अध्यक्ष कार्यालय जान पाएका थिएनन् ।
टिप्पणीहरू