यतातिर नेपाल झन् कमजोर, भारतले सक्यो, हामी रित्तै
फ्रान्सको राजधानी पेरिसमा जारी युनेस्कोको वार्षिक बैठकमा प्रस्तुत नेपालको तिलौराकोटलाई विश्व सम्पदासूचीमा पार्ने एजेण्डाले मूर्तरुप लिन लागेको खबर हिजो बाहिरिए पनि आज अवस्था फेरिएको छ ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक,वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को इन्टरनेशनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्स (आइसिएमएस) सिफारिस समितिले तिलौराकोटलाई सूचीकृत गर्न नेपाल सरकारलाई सात बुँदे निर्देशन दिए पनि त्यसलाई साकार बनाउन त्यति सजिलो नभएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
प्राचीन शाक्यवंशी राज्यको पुरातात्विक तिलौराकोट दरबारको अवशेषलाई विश्व सम्पदासूचीमा सूचीकृत गर्ने लामो प्रयास यस पटक पनि साकार हुन सकेन । बैठकमा सहभागी एकजना नेपाली अधिकारीले बताए, ‘यसपाली हाम्रो भएन,बरु भारतको प्रस्ताव स्वीकृत भयो ।
आइसिएमएसको मूल्यांकनका आधारमा तिलौराकोटलाई विश्व सम्पदासूचीमा पार्ने प्रयास यो वर्षका लागि लगभग अस्वीकृत भएको उनको भनाइ छ । आइसिएमएसको फरक मूल्यांकन प्रतिवेदन हिजोको बैठकमा राखिँदा अन्य सदस्य राष्ट्रले त्यसमा कुनै संशोधन प्रस्ताव प्रस्तुत नगरेकाले हुबहु पारित हुँदा त्यस्तो अवस्था आएको हो । आइसिएमएसको फरक मूल्यांकन प्रतिवेदनलाई लेबनानले पूर्ण समर्थन गरेलगत्तै नेपाल सूचीको दौडबाट पछाडि पर्न बाध्य भएको बुझिएको छ ।
यसलाई सम्पदा कूटनीतिमा देखिएको गम्भीर असफलता मान्नुपर्ने हुन्छ । जबकी भारतको मराठा मिलिटरी ल्याण्डस्केपलाई जापानले संशोधन हालेर सूचीकृत गर्नुपर्ने संशोधन प्रस्ताव हाल्दा बहुमत सदस्य राष्ट्रले समर्थन जनाएका थिए । आइसिएमएसको फरक मूल्यांकन प्रतिवेदनका बाबजुद पनि भारतले भने सम्पदा कूटनीतिमा यस पटक बाजी मार्न सफल भएको छ ।

टिप्पणीहरू