अख्तियारमा उजुरीपछि जनप्रतिनिधि र कर्मचारीको खाँदबारी - टंगाल दौड
करोडौं अनियमितता गरेको आरोपमा संखुवासभाको खाँदबारी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय, संखुवासभामा उजुरी परेको छ । वडा नम्बर–८ का राजमणि भण्डारीले असार १९ गते दुवै निकायमा उजुरी दर्ता गरेको बताइन्छ ।
अर्कोतर्फ महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा नगरपालिकाको बेरुजु झण्डै सात करोड रहेको औंल्याएको छ । जसअनुसार नगरपालिकाको बेरुजु ३४ करोडबाट ४१ करोड रुपैयाँ पुगेको छ । जनप्रतिनिधिको पोशाक भत्तावापत पाँच लाख ८० हजार रुपैयाँ खर्च भएको छ । त्यसैगरी, मलामी जाँदा र आफन्तको बिहेभोजमा सरिक हुँदा सरकारी सवारी साधनकै प्रयोग गरेका मेयर महेश थपलियाले यातायात खर्चवापत नगरपालिकाबाट दुई लाख ४० हजार रुपैयाँ लिएको उल्लेख छ ।
उक्त खर्चलाई महालेखाले अनियमित ठहर गरेको छ । करोडौं रुपैयाँ बेरुजु ठहर हुँदा नगरपालिकाले फछ्र्यौटमा चासो नदेखाएपछि उजुरी परेको हो । उजुरीकर्ताले मेयर थपलिया, उपमेयर महेश्वरा बज्राचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र विभागीय कर्मचारीहरुमाथि छानबिन गर्न सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।
‘महालेखा परीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार देहायबमोजिमको बेरुजु (असुल गर्नुपर्ने, प्रमाण नपुगेकोसहित) र म्याद नाघेको पेश्कीसहितको रकम असुल गर्न नगरपालिकाले आनाकानी गरिरहेको कारण रकमको चरम दुरुपयोग भएको छ भन्ने बलियो आधार रहेकोले खाँदबारी नगरपालिका तत्काल शिल गरी नगरप्रमुख, उपप्रमुख, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र विभागीय जिम्मेवारीप्राप्त सम्बन्धित कर्मचारीहरुमाथि छानबिन गरी आवश्यक कारबाही गर्नुहुन...’,उजुरीमा उल्लेख छ ।
महालेखाका अनुसार नगरपालिकाले विभिन्न व्यक्ति तथा पार्टीका विविध शीर्षकअन्तर्गत ५४ लाख ९९ हजार रुपैयाँ तत्काल असुल गर्नुपर्नेछ । त्यसैगरी, दुई करोड ३८ लाख ९१ हजार अनियमितता भएको, तीन करोड ८४ लाख आठ हजार प्रमाण नपुर्याई खर्च गरेको, १२ लाख सात हजार रुपैयाँ म्याद नाघेपछि पेश्कीबापत दिएको महालेखाको जिकिर छ ।
अख्तियारमा उजुरी दर्ता भएसँगै मेयर थपलियासहित कर्मचारीहरुको दौडधुप शुरु भएको हो । एकपछि अर्को गरेर उनीहरु काठमाडौं आएपछि स्थानीयले पनि विशेष चासो दिएका छन् । उनीहरु जसरी पनि अख्तियारमा आफ्ना कुरा पुर्याउन राजधानी हानिएको कर्मचारीहरुको भनाइ छ । पाँच दिनअघि मेयर थपलिया र प्रमुख प्रशासकीय अधिकृत दिनेश कट्टेल यता आएका थिए । लेखा अधिकृत रुद्रमणि श्रेष्ठ पनि काठमाडौं आइसकेका छन् ।
टिप्पणीहरू