चोरिएका डेढ दर्जन बढी सवारी साधन भेटिए
चोरिएका डेढ दर्जन बढी सवारी साधन भेटिएका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका २० वटा सवारी साधन ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धितलाई हस्तान्तरण गरेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज एक कार्यक्रमबीच १२ वटा मोटरसाइकल र आठ वटा स्कुटर सम्बन्धित धनीलाई बुझाएको हो । कार्यालयमा प्राप्त उजुरीका आधारमा खोजी गर्दा केही वास्तविक र कतिपय भने नक्कली नम्बर प्लेट राखिएको अवस्थामा भेटिएको जनाइएको छ ।
उपत्यकाका विभिन्न स्थानबाट हराएका ती सवारी साधन नरेफाँट, मिलनचोक, सुन्दरीजल, चावहिल, मध्य बानेश्वर, मालिगाँउ, काडाँघारी, कालिमाटी, अनामनगर, सिंहदरबार, नेपालटार, नयाँबसपार्क, बसुन्धारा र थलीलगायत स्थानमा फेला परेको कार्यालयको भनाइ छ ।
कार्यालयका अनुसार गत साउनयता चोरिएका तथा हराएका चार सय ८० वटा सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई बुझाइएको छ । चोरीमा संलग्न ७४ जनालाई पक्रेर कारबाहीसमेत गरिएको छ ।
सवारी साधन चोरी तथा हराउनबाट बचाउन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरु जोड्न र मानिसहरुको आवत–जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न कार्यालयको अनुरोध छ ।
साथै, सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।
टिप्पणीहरू