वैरोको सेवा प्रवाह थप चुस्त र व्यवस्थित
वैदेशिक रोजगार विभागबाट प्रवाह हुँदै आइरहेको सेवालाई छिटो छरितो र थप व्यवस्थित बनाउँदै लगेको छ । सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाएको जनाउँदै विभागले पछिल्लो समय सम्पादन गरेका केही मुख्य कामको सूचीसमेत सार्वजनिक गरेको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको असार ३१ गतेसम्म सात लाख ७८ हजार ३७८ जनालाई श्रम स्वीकृति प्रदान गरिएको छ । वैदेशिक रोजगारीमा जान चाहेका नागरिक तथा इजाजत प्राप्त संस्थालाई अनलाइन आवेदन दिएकै दिन कार्यालय समयभित्रै श्रम स्वीकृति दिएको विभागको भनाइ छ ।
यस्तै, वैदेशिक रोजगार ठगीको कसूरमा समातिएका थुनुवालाई न्यायाधिकरण लैजान र ल्याउन गाडीको अभाव रहेकोमा अर्थ मन्त्रालयसँग समन्वय गरेर डेडिकेटेड सवारी साधनको व्यवस्था गरिएको छ । ठगी नियन्त्रण र छिटो छरितो राहत उद्धार एवम् गुनासो सम्बोधनका निम्ति ‘क्विक रेस्पोन्स टिम’ खटाइएको जानकारी दिँदै विभाग परिसरलाई बिचौलिया निषेधित क्षेत्र घोषणा गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
योसँगै विभागको आन्तरिक नियन्त्रण प्रणाली सुधारेर कर्मचारीलाई उच्च आचरण र अनुशासनमा रही कार्यालय समयभित्र सोही दिनको काम फछ्र्यौट गरिसक्नुपर्ने परिपार्टीको विकास गर्नुका साथै मुद्दा शाखालाई आधुनिक पूर्वाधारयुक्त बनाइएको छ ।
विभागले मुद्दा, उजुरी तथा गुनासो सम्बोधन गर्न सबै राजपत्रांकित अधिकृतलाई अनुसन्धान अधिकृत तोकेर फछ्र्यौट कार्यमा तीव्रता दिएको, कार्यालय सरसफाई तथा सेवा प्रवाहमा व्यवसायिकताको संस्कृति बसालेको र इजरायल, इपिएस कोरिया शाखाको निरन्तर अनुगमन गरी नतिजामूलक कार्यसम्पादनमा जोड दिएको पनि जनाएको छ ।
टिप्पणीहरू