सेफ्टी ट्यांकीमा खसेकी बालिकाको निधन, गाडी पल्टिँदा दुई जना घाइते
भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेकी बालिकाको निधन गएको छ । सोमबार दिउँसो अस्पतालको प्राङ्गणमा खेल्नेक्रममा सोही अस्पतालमा कार्यरत कर्मचारी भरतपुर–१० निवासी विकास मगरकी पाँच वर्षीया छोरी अन्जना मगर अचानक सेफ्टी ट्यांकीमा खस्न पुगेकी थिइन् ।
सेफ्टी ट्यांकीबाट तत्काल उद्धार गरिएपनि बालोकको हालत गम्भीर अवस्थामा थियो । उनको सोही अस्पतालमा उपचार भइरहेकोमा हिजो साँझ पौने सात बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
यता, हिजो रातको समयमा एउटा गाडी सडकबाट खसेको छ । बेलुकी करिब साढे १० बजे भरतपुर–२९ स्थित मुग्लिङ–नारायणगढ सडक खण्डको सिमलताल भन्ने ठाउँमा भारतबाट आएको मिनी ट्रक सडकदेखि करिब ७०-८० मिटर तल त्रिशुली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।
मेवा बोकी काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेडएन ७८८३ नम्बरको भारतीय मिनी आईचर ट्रक आफैं अनियन्त्रित भई खस्दा भारत लखनउका ट्रक चालक २१ वर्षीय आशिक यादव र सहचालक वर्ष २० को उत्तर सिंह दुवैजना सामान्य घाइते भएका थिए । उनीहरुलाई तत्काल उपचारको लागि सरकारी अस्पताल भरतपुरतर्फ पठाइएको थियो ।
टिप्पणीहरू