घुस काण्डमा मुछिएका मन्त्रीविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी
‘घुसकाण्ड’ मा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीमाथि कारबाहीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ ।
सिन्धुलीका युवराज सफलले निज मन्त्रीलाई निलम्बन गरी कारबाही गरी पाउँ भन्दै आज उजुरी दर्ता गरेका हुन् । उनले २४ देखि ४८ घण्टाभित्र मन्त्री अधिकारीलाई निलम्बन गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउन प्रम कार्यालयको ध्यानाकर्षण गराएका छन् ।
‘घुसकाण्ड’ मा मुछिएको व्यक्ति कानुनी, व्यवहारिक र नैतिक हिसाबले पदमा बस्न नमिल्ने उल्लेख गर्दै उजुरीमा मन्त्रीका छोरा र सचिवालयका सदस्यहरुको मोबाइलसमेत कब्जामा लिएर अनुसन्धान गर्न माग गरेका ।
दर्ता नम्बर २६ भएको उजुरीपत्रमा भनिएको छ,‘भ्रष्टाचार र घुसकाण्डमा जोडिएका मन्त्री बलराम अधिकारीले अन्य जग्गासम्बन्धी काम गर्दासमेत लाखौं, करोडौं रुपैयाँ घुस, कमिशन खाएको, लिएको, अन्य जग्गा प्रकरणमा करोडौंको डिल गरेको हुनसक्ने हुँदा निजको मोबाइलसमेत कब्जा गरी विशेष अनुसन्धान गर्न, मन्त्रीका छोरा, मन्त्रीका सचिवालयका सदस्यहरुको मोबाइलसमेत कब्जामा लिई अनुसन्धान गर्न, साथै मन्त्रीलगायत टिम बसेको भनिएको होटलको सिसीटिभी फुटेजसमेत झिकाई आवश्यक अनुसन्धान गरी दोषी देखिए दोषीमाथि हदैसम्म कारबाही गर्न माग गर्दछु ।’
पोखरामा एक सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्नका लागि उनले मन्त्री क्वार्टरमै बिचौलियामार्फत ३२ लाख रुपैयाँ घुस लिएको अडियो हिजो सार्वजनिक भएको थियो । सो अडियो सार्वजनिक भएपछि विवादमा तानिएका मन्त्री अधिकारीले राजीनामा दिनुपर्ने माग उठिरहेको छ ।
तर, भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले २४ घण्टासम्म पनि यसमा कुनै 'एक्सन' लिएका छैनन् ।
टिप्पणीहरू