धुलिखेल–खावा सडक स्तरोन्नतिका लागि नयाँ ठेक्का

धुलिखेल–खावा सडक स्तरोन्नतिका लागि नयाँ ठेक्का

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्ड स्तरोन्नतिका लागि नयाँ ठेक्का लगाइने भएको छ । १४ महिनामा काम सम्पन्न गर्नेगरी सडक डिभिजन कार्यालय भक्तपुरले आज बोलपत्र आह्वान गरेको हो ।

भदौ मसान्तसम्म सडक निर्माणको सम्झौता गरिसक्ने डिभिजनका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताए । असोजबाट निर्माण शुरु गरिने र आगामी चैतसम्म कालोपत्रेको काम सम्पन्न हुने उनको भनाइ छ । 

जनआस्थासँग सुमनले भने,‘भदौभित्र सम्झौता भइसक्छ, असोजदेखि काम शुरु गर्छौं । चैतसम्ममा कालोपत्र सकेर अन्य काम थालिनेछ ।’ जिल्लाको सदरमुकाम धुलिखेलदेखि खावासम्मको चार किलोमिटर सडक विस्तारका लागि डिभिजनले गौरी पार्वती निर्माण सेवा प्रालिसँग २०७९ जेठ २० गते सम्झौता गरेको थियो । 

२०८० चैत १९ गते निर्माण सम्पन्न गरिसक्नेगरी २० करोड १९ लाख ४६ हजार पाँच सय एक रुपैयाँमा सम्झौता भएकोमा २० प्रतिशत पनि काम हुन सकेको छैन् । ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दा यात्रुले निकै सास्ती खेप्नुपरेको छ । 

बर्खामा हिलाम्मे र हिँउदमा धुलाम्मे हुँदा सो सडकबाट यात्रा गर्न निकै कष्टकर छ । सो सडकखण्ड विस्तारमा भएको ढिलाइको विरोधमा जिल्ला समन्वय समिति, काभ्रेका प्रमुख दिपककुमार गौतम आमरण अनशनसमेत बसेका थिए । 

यता, संसद्को पूर्वाधार विकास समितिले समेत सो सडकखण्डको अनुगमन गरेको थियो । निर्माणमा स्तरोन्नति नभएपछि डिभिजनले पटकपटक ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोध्यो । तर, ठेकेदार कम्पनीले सन्तोषजनक जवाफ नदिएपछि डिभिजनले गत फागुनमा ठेक्का रद्द गरेको हो ।

जसविरुद्ध ठेकेदार कम्पनी उच्च अदालत, पाटन पुगेको थियो । ठेक्का रद्द गर्ने निर्णय स्थगित गरिपाऊँ भन्दै ठेकेदार कम्पनीले मुद्दा दायर गरेकोमा उच्चले डिभिजनकै पक्षमा आदेश गरेको छ । उच्चको आदेशसँगै डिभिजनलाई सडक निर्माणका लागि नयाँ ठेक्का लगाउने बाटो खुलेको हो ।

आगामी वर्षमा सो सडकको स्तरोन्नति सक्ने सडक डिभिजनले जनाएको छ ।

टिप्पणीहरू