घिउ बेचुवा र तरबार बेचुवाको चेपुवामा दुई करोड
‘कमेडी च्याम्पियन’ शोका निर्देशक विशाल भण्डारीले बिहानै आफू ठगीमा परेको बताए पनि नाम सार्वजनिक नगरेका व्यक्ति हरि भट्टराई भएको खबर बाहिरिएको छ । उनी गैर आवासीय नेपाली संघ मलेसिया शाखाका सदस्य हुन् । जसको सदस्यता नम्बर एमवाई ११०००५५७ हो ।
एनआरएनएको एसिया प्यासाफिक क्षेत्रका संयोजक समेत रहेका उनी चर्चित सञ्चारकर्मी नरेश भट्टराईलाई भतिज भनेर सम्बोधन गर्ने बताइन्छ । हरिको सामाजिक सञ्जाल पृष्ठलाई हेर्ने हो भने उनले वर्तमान राज्य व्यवस्थाविरुद्ध विभिन्न स्टाटास लेखेको पाइन्छ । उनले गणतन्त्रलाई ‘घाडोतन्त्र’को संज्ञा समेत दिएका छन् ।
त्यस्तै भट्टराईको टाइमलाईन विभिन्न राजीनिक दलका नेताहरुसँग खिचिएको फोटोले भरिभराउ देखिन्छ । महानायक राजेश हमालदेखि पूर्वप्रधानमन्त्री डा. बाबुराम हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई उनले आफ्नो फ्रेममा अटाएका छन् । यद्यपि, कतिपयले विभिन्न नेताहरुसँग खिचेको फोटो देखाएर शक्ति र पहुँच प्रदर्शन गर्न खोजेको प्रतिक्रिया लेखेका छन् ।
निर्देशक भण्डारीका अनुसार भट्टराई १९ महिनाअघि कम्पनीसँग जोडिएका थिए । उनी कसरी जोडिए ? त्यसको पृष्ठभूमि बाहिर आइसकेको छैन । तर यस प्रकरणलाई टुंगोमा पुर्याउन प्रहरीलाई समेत हम्मे–हम्मे भएको बुझिएको छ । एक उच्च अनुसन्धान अधिकृतका अनुसार भट्टराईले काठमाडौँ जिल्ला अदालतमा भण्डारीविरुद्ध बैंकिङ्ग कसुरको मुद्दा हालेका छन्, भने यता भण्डारीले पनि भट्टराईविरुद्ध काठमाडौँ प्रहरी परिसरमा अपराधिक लाभको कसुरमा जाहेरी दिएका छन् ।
‘दुवै जनाले आफू पीडित भएको दावी गरेर अदालत र प्रहरीमा निवेदन दिएका छन्, को पीडक पो पीडत छुट्टयाउनै सकस भएको छ’, ती अनुसन्धान अधिकृत भन्छन्, ‘यो लफडा चलेको धेरै भइसक्यो । हामीले उनलाई(भट्टराई) परिसरमा हाजिर हुन खबर त पठाएका हौँ, तर अहिलेसम्म आएका छैनन् ।’
टिप्पणीहरू